तरुण खबर
३० बैशाख २०७९, शुक्रबार १६:४७
बनेपा । काभ्रे जिल्लाको बेथाञ्चाक गाउँपालिकामा ३ बजेसम्ममा करीब ९ हजार मतदान भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनु भएको छ । काभ्रे जिल्लमै उत्कृष्ट काम गर्नेमा गणना हुने गरेको छ । यहाँ शान्तिपूर्ण रुपमा मतदान भएको पालिका अध्यक्ष एवं नेपाली काँग्रेस बेथाञ्चोक गाउँपालिका सभापति तिमल्सिनाले जानकारी दिनु भयो ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ मा रहेको सीता माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान स्थगित भएको बद्रीप्रसाद खकुरेलले जानकारी दिनु भयो । मतदान अधिकृतले एमालेका एक व्यक्तिलाई ३÷४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरूले विरोध गरेका छन् । त्यसलगत्तै मतदान स्थगित गरिएको हो ।
निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा छिटफुट घटनाबाहेक उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ । ३ बजेसम्ममा देशभर करिब ५० प्रतिशत मतदान भइसकेको तथ्यांक प्राप्त भएको आयोगले जनाएको छ । तर दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही स्थानमा भने सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको छ ।
ती स्थानमा पनि छिट्टै मतदान सुरु हुने अपेक्षा रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।


