मुलुकमा संघीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई सामाजिक क्षेत्रमा पनि परिचित व्यक्तित्व हुन् । सादा जीवन, उच्च विचार, शालीन एवं भद्र स्वभावका धनी उनको यही व्यक्तित्वले यसपटकको निर्वाचनमा भारी मतले विजयी भए । नगरप्रमुख कोइरालासँग राससकर्मी मोहम्मद सदरुल र मनोज दाहालले लिएको अन्तर्वार्ताको सम्पादित अंश :
यहाँका पिताजी स्वर्गीय कृष्णप्रसाद कोइरालाले स्थापना गरेको यो विराटनगर सहर राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक एवं सामाजिक महत्व बोकेको छ, यसलाई हजुरले कसरी कायम राख्नुहुन्छ ?
हो विराटनगर सहर स्थापना गर्नेदेखि यहाँ विकासको पूर्वाधार निर्माण गर्न मेरा पिताजी कृष्णप्रसाद कोइराला र त्यसपछि गिरिजाप्रसाद कोइरालालगायत धेरै अग्रजहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । नेपालको राजनीतिमा विराटनगरको योगदान ठूलो रहेको छ । लामो समय स्थानीय निकाय निर्वाचन नहुँदा जनताको भावनाको प्रतिनिधित्व हुन सकेको थिएन । पछि जनप्रतिनिधि आइसकेपछि मुलुकमा कोरोनाको महामारीका कारण विकास निर्माणले गति लिन सकेन । विराटनगरको ऐतिहासिक महत्वलाई स्थापित गर्दै जनताको भावनाअनुसार विकासका क्रियाकलाप सञ्चालन गर्ने दृढता लिएको छु ।
विराटनगर औद्योगिक नगरीका रूपमा पनि परिचित छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई नयाँ उद्योग स्थापनाप्रति आकर्षित गर्न कस्तो योजना बनाउनुभएको छ । यस क्षेत्रमा पहिले स्थापना भएका अधिकांश ठूला उद्योग विस्थापित भएका छन् भने साना तथा लघु उद्योग करिब १३ हजार छन् । तीमध्ये ६ देखि ७ हजार सञ्चालित छन् भने बाँकी त्यत्तिकै खाली बसिरहेका छन् । ती उद्योगलाई पुनः सञ्चालन गर्ने, विस्थापित हुने अवस्थामा रहेका उद्योगीहरूको भावना बुझ्ने र सुविधा दिएर भए पनि उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने योजना बनाएको छु । यसबाट अर्थतन्त्र चलायमान मात्र होइन, प्रशस्त रोजगारी पनि सिर्जना गर्न सकिन्छ । विराटनगरको साखलाई बढाउन लघु उद्योगको पनि धेरै ठूलो भूमिका हुन सक्छ । विराटनगर जुट मिलको ५ सयदेखि ६ सय बिघा जग्गा त्यत्तिकै खेर गइरहेको छ । देशकै प्रसिद्ध मानिएको यस जुट मिललाई पुनः जीवित बनाउनभन्दा पनि त्यहाँ रहेको जग्गा विशेष आर्थिक क्षेत्र बनाउन सकिन्छ र त्यहाँबाट हामीले भारतलगायत अन्य देशको लगानी भिœयाउन सकिन्छ । यसबारेमा उद्योगीहरूसँग कुराकानी पनि भएको छ । यसो गर्न सकिएमा रोजगारी सिर्जना र महानगरपालिकाको आम्दानी बढाउन सकिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुखले फोहोर व्यवस्थापन, धरान उममहानगरपालिकाका प्रमुखले पानीको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेजस्तै विराटनगर महानगरपालिकाको प्रमुखको हैसियतले तपार्इंले के कुरालाई पहिलो प्राथमिकतामा राख्नुभएको छ ?
यो मानवको आवश्यकताको कुरा हो, तपार्इं एउटा पसलमा जानुहुन्छ, एक गिलास पानी माग्नुहुन्छ तर पसलले मिनर वाटर किन्न भन्छ, त्यसपछि तपाईं शौचालय जानुहुन्छ तपाईंलाई शौचालय चाहिन्छ । अब तपार्इं खाना खानुहुन्छ वा विभिन्न वस्तु उपभोग गर्नुहुन्छ र त्यसबाट फोहोर हुन्छ, फोहोरलाई व्यवस्थापन गर्नुपर्छ । खाना खाएर पेट भरेपछि तपाईंलाई एकछिन हरियाली चाहिन्छ, त्यसका लागि पार्क चाहिन्छ । एकछिन आराम गरेपछि सडकमा हिँड्नुहुन्छ, सडक अस्तव्यवस्त भेट्नुहुन्छ, सिटी सफारी पनि त्यही, गाडी पनि त्यहीँ छ, रिक्सा, ट्रक, साइकल पनि त्यहीँ छ, तपाईं सडकमा सुरक्षित महसुस गर्नुहुन्न, हिँड्न सक्नुहन्न । त्यसैले सडक सुरक्षित हुनुप¥यो, सडकपेटीमा सुरक्षा हुनुप¥यो । सँगसँगै गाडीमा हिँड्नेलाई दुर्घटना हँुदैन भन्ने महसुस हुनुप¥यो । त्यसलै विराटनगरमा तीनवटा मात्र रुट छ । ७ सय किलोमिटर नेटवर्क सडकमध्ये २ सय ५० देखि ३ सय किलोमिटर मात्र कालोपत्रे भएको देखिन्छ । अरू बाँकी सबै लथालिंग छ । एसियाली विकास बैंकको कार्यक्रम पनि सीमित ठाउँमा मात्र लागू भएको देखिन्छ । विराटनगरमा अझै सडकको समस्यासँगै ढल वा नालीको पनि समस्या रहेको छ । अब हामीले ४ सय ५० किलोमिटर बाटो बनाउँदा अगाडि भएको २ सय ५० देखि ३ सय किलोमिटर कालोपत्र सडक भत्किने अवस्थामा पुगिसक्ने हुँदा जम्मा ७ सय किलोमिटर बनाउनुपर्छ । त्यसको सञ्जाल बनाउनुप¥यो । त्यसमा पहिले डुबानको समस्या समाधान गर्नुप¥यो, नभए सडक भत्किने हुन्छ । जबसम्म सडकमा पानी जम्न छोड्दैन तबसम्म हाम्रो प्रयास निरर्थक हुन्छ । त्यसैले यस कुरामा हामी गम्भीर छौं ।
विराटनगरलाई आधुनिक सहर बनाउने चुनौती छ, यसलाई कसरी तालमेल मिलाएर लैजाने योजना बनाउनुभएको छ ?
धार्मिक र पर्यटकीयस्थलहरूमा विराटनगरको नाम पाएको विराट राजाको राजधानी भएकाले नाम यहीँबाट आएको जस्तो लाग्छ । त्यसलाई विराट राजाको पहिचान र नाम देखिने संग्रहालय बनाएर धार्मिक पर्यटनमा अगाडि बढाउन सकिन्छ । विराटनगरबाट सात जना प्रधानमन्त्री बनेर जानुभएको छ । उहाँहरूको इतिहासलाई वर्णन गर्दै एउटा संग्रहालय निर्माणगरी मुलुकभरिका नागरिकलाई पूर्वप्रधानमन्त्रीहरूले दिएको योगदानको विषयमा उजागर गराउन सकिन्छ । विराटनगरका केशलिया र सिङ्घीया नदीमा तटबन्ध बनाउने र त्यसको माथि सडक बनाउन सकिन्छ । त्यस्तो सडक बालमैत्री, अपांगतामैत्री, दृष्टिविहीनमैत्री, पैदल यात्रीमैत्री हुन सक्छ ।
विराटनगर महानगरपालिकामा २०५३ सालमा शिलान्यास भएको चक्रपथले अहिलेसम्म पूर्णता पाएको छैन्, यसलाई पूरा गर्नुपर्नेतर्फ केही सोच्नुभएको छ कि ?
विराटनगरका लागि ‘वाइपास रोड’को निकै आवश्यक छ, एउटै सडकमा १० थरीका गाडी सञ्चालन हुने गर्दा सडक असुरक्षित छ, क्षमताभन्दा बढी मालवाहक गाडीमा सामान ढुवानी भइरहेको छ, सडक पनि भत्किरहेको छ । त्यसैले वैकल्पिक सडक निर्माणतर्फ ध्यान दिनु जरुरी छ । झन्डै २५ वर्षअघि शिलान्यास भएको चक्रपथ के कारणले सम्पन्न हुन नसकेको यस विषयमा प्रदेश सरकारसँग पनि छलफल गर्नेछु । चक्रपथ सम्पन्न हुन्छ भने गरौं, होइन भने पूर्ण रूपमा बन्द गरौं भन्नेछु । हामी सानो हुँदा चक्रपथ परियोजना आएको थाहा पाएका थियौं तर यतिका वर्षसम्म सम्पन्न नभएपछि मैले मेरो घोषणापत्रमा अर्को कोरिडोर सडक बनाउने उल्लेख गरेको हुँ ।
विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन के–के योजना बनाउनुभएको छ ?
विराटनगर सहरलाई सफा, हरियाली एवं सुन्दर बनाउन तथा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन एवं हेर्न लायकको ठाउँ बनाउन धेरै महŒवकांक्षी योजना बनाइएको छ । विराटनगरलाई साँच्चीकै महानगर बनाउन नयाँ सिराबाट काम सुरु गर्नुपर्ने देखिन्छ । सुरुमै दातृ निकायले सहयोग पर्खेर काम हुन सक्दैन । महानगरपालिकाका पहिले आफूमा सक्षम हुनुप¥यो, अनि दातृ निकायले पत्याउँछ । त्यो पत्याउने परिस्थिति निर्माण गर्ने कार्य हाम्रो हो, त्यसका लागि हामी सम्पूर्ण टोली लागिरहेका छौं । हामी आत्मनिर्भर भएपछि कोकोसँग कुरा गर्ने, कुन परियोजनालाई आगाडि बढाउने भन्ने कुरा आउँछ । प्राचीन विराटनगरलाई संरक्षण गर्ने र आधुनिक विराटनगर बनाउने हाम्रो उद्देश्य रहेको छ ।
निर्वाचनताका तपाईंले जारी गर्नुभएको संकल्प एवं घोषणापत्र भन्दा पनि जनताले चाहेका र माग के कस्तो रहेको पाउनुभयो ?
निर्वाचनको क्रममा मतदाताको घरदैलोमा पुग्दा र अहिले विजयी भएपछि अधिकांश मतदाताको मूल चाहना भनेको कर घटाउनु रहेको छ । जस्तो कि पैतृक सम्पत्तिबाट बनाएको घरको कर ५० रुपैयाँबाट एक्कासि वृद्धि गरेर ५ हजार बनाइएको छ । त्यो फरकले गर्दा कतिपयले घरको कर नतिरेको देखिन्छ, कर घटाएर नगरवासीलाई अब कर तिर्न प्रेरित गराउनुपर्ने भएको छ । लक्ष्यअनुसार राजस्व संकलन भए विराटनगरवासीले खोजेको सम्पूर्ण कार्य गर्न सम्भव छ । पहिले महानगरपालिका सक्षम हुनुप¥यो । वर्षायाममा नगरका कतिपय स्थानमा डुबानको समस्या छ । व्यवस्थित ढल, नालीको व्यवस्था गरेर डुबानको समस्याबाट मुक्त गराउन आवश्यक छ ।
नगर क्षेत्रको शिक्षा र स्वास्थ्यमा आमनागरिकको पहुँच पु-याउन कस्तो योजना बनाउनुभएको छ ?
शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने देखिन्छ । उच्चस्तरको अस्पतालको आवश्यकता छ, बिमा र सुकुमबासीको समस्याको समाधान खोज्नु छ । उनीहरूलाई एकीकृत बस्तीमा राख्नुपर्ने आवश्यकता छ । कतिपय विपन्न जनता अहिलेको कर तिर्न असमर्थ रहेकाले करको दर घटाउने र करको दायरा बढाउनुपर्ने देखिन्छ । सामुदायिक विद्यालयमा निजी विद्यालयस्तरको जस्तै स्तरीय पठनपाठनको सुनिश्चित गरी प्रत्येक वडामा त्यस्तो विद्यालय स्थापना गर्नु आवश्यक छ । त्यसपछि पनि महानगरपालिकाका गरिबका छोराछोरी जसले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अथवा आफूले अध्ययन गर्न चाहेको विषयमा आवश्यक सहयोगको प्रबन्ध गरिनेछ । अस्पतालका रूपमा १९ वटै वडामा स्वास्थ्यचौकी भए पनि त्यो राम्ररी सञ्चालन भएको देखिँदैन । यसरी छरिएर राख्नुभन्दा एकीकृत महानगरपालिका एउटा गुणस्तरीय अस्पताल स्थापना गरी निजी अस्पतालबराबरको सेवा सहुलित दरमा विराटनगरवासीलाई उपलब्ध गराउन सकियोस् । खानेपानीको योजनामा नगरवासीलाई मिनरल वाटरसरहको पानी धाराबाट उपलब्ध गराउनेतर्फ मेरो प्रयास रहनेछ ।
संघीय सरकारले विराटनगर महानगरपालिकालाई दिने अनुदान अरू महानगरपालिकाको तुलनामा निकै कम छ यसलाई कसरी लिनुभएको छ ?
केही वर्षअघिसम्म विराटनगर देशकै दोस्रो मुख्य सहरका रूपमा परिचित थियो, राजनीतिक परिवर्तनपछि विराटनगरबाट पाँच जना प्रधानमन्त्री हुनुभयो । अहिले आएर नेपालको छैटौं सहरका रूपमा पुग्नुमा संघीय सरकारले नजर यहाँ नपर्नु नै मुख्य हो । विराटनगरबाट प्रधानमन्त्री बन्नुभएका व्यक्तित्वले देश बनाउन लाग्नुभयो । आफैं जन्मेको हुर्केको ठाउँलाई बनाउनुभन्दा देशभरिको विकासमा केन्द्रित भएकाले यस्तो भएको हो । संघीय सरकारको मात्र मुख नताकी महानगरपालिका आफैंले पनि आर्थिक स्रोत जुटाउन प्रयास गर्नुपर्छ । अब हामी १ अर्ब राजस्व संकलन गर्ने उद्देश्यले लागि परेका छौं । विराटनगर सफल र सक्षम बनाउन लागिरहेका छौं । विराटनगरको साख बचाउने उद्देश्यले कार्य गरिरहेका छौं, यसमा राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नगरवासीको साथ र सहयोगको पनि उत्तिकै जरुरत पर्छ ।
अन्त्यमा विराटनगरवासीलाई केही भन्न चाहनुहुन्छ ?
मलाई अत्यधिक बहुमतले प्रमुखमा विजयी गराउनुभएकामा सम्पूर्ण नगरवासीप्रति हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु । नगरवासीले जुन विश्वासका साथ मलाई यो जिम्मेवारी सुम्पिनुभएको छ, त्यसलाई कत्ति पनि कम हुन नदिई इमानदारपूर्वक काम गर्नेछु । एउटा व्यक्तिको प्रयासले मात्रै सम्पूर्ण नगरको मुहान फेर्न सम्भव हुँदैन । सबैको साथ र सहयोगको जरुरत पर्छ । सँगसँगै खबरदारी र सचेत गराउन पनि आग्रह गर्छु । निर्वाचनको क्रममा मैले सार्वजनिक गरेको प्रतिबद्धताको कार्यान्वयन गर्ने कुरामा आशंका नगर्न पनि आश्वस्त तुल्याउन चाहन्छु ।