तरुण खबर
३० जेष्ठ २०७९, सोमबार ०९:३३
अभिनेत्री केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’ ले प्रचारप्रसार सुरु गरेको छ । फिल्म असार ३१ गतेबाट प्रदर्शनमा आउँने तयारीमा छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मबारे जानकारी गराइयो ।
कमेडी जनराको फिल्ममा उनले करिअर स्थापित गर्न संघर्षशील कलाकारको भूमिका निर्वाह गरेकी छन् । अभिनेत्री अधिकारीले भनिन् ‘फिल्मको पात्रको भूमिका निर्वाह गर्दै गर्दा मलाई आफ्नो संघर्षको दिनहरु कताकता याद आयो ।’ आफूले निर्वाह गरेको पात्र आफ्नो जीवनको अनुभवसँग निकट रहेकोले अभिनय गर्न अलिकति सहज भएको उनले अनुभव सुनाईन् । फिल्ममा केकी एक मात्र लिड महिला कलाकारको रुपमा छिन् ।
राजबहादुर साने निर्देशित ‘सिल्ली फो’ले पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको प्रसारप्रचारलाई तिव्र बनाएको छ । सो अवसरमा बोल्दै निर्देशक सानेले ‘सिल्ली फो’बाट आफूले कमेडी जनरामा पहिलो पटक हात हालेको बताए । उनले फिल्म राम्रो बनेको बताउँदै फिल्मले आफूलाई कमेडी जनरामा स्थापित गर्नेमा विश्वस्त रहेको बताए । फिल्ममा केकीका साथमा रविन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, रमेश बजगाईँ, धिरेन शाक्य लगायतको अभिनय छ ।
कार्यक्रममा अभिनेताहरु राजाराम, रविन्द्र, दिनेश र रमेशले पनि फिल्म राम्रो बनेको बताए । अभिनेता धिरेन भने कार्यक्रममा उपस्थित थिएनन् । मनोज डीके यस फिल्मका निर्माता हुन् । फिल्मको ट्रेलर दुई-तीन दिनमा सार्वजनिक गर्ने तयारी छ ।


