नेपथ्यका अमृत गुरुङको स्वरमा ‘दोख’ को शीर्ष गीत

नेपथ्यका अमृत गुरुङको स्वरमा ‘दोख’ को शीर्ष गीत तरुण खबर ४ असार २०७९, शनिबार १०:३४
नेपथ्यका अमृत गुरुङको स्वरमा ‘दोख’ को शीर्ष गीत

अनुप बराल निर्देशित फिल्म ‘दोख’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङको स्वर छ । गुरुङले गाएको यो चलचित्रको पहिलो गीत हो ।

कार्यक्रममा बोल्दै गुरुङले भने, ‘फिल्ममा गीत गाउँदिन भनेर बसेको थिएँ । नजिकको साथी अनुपले आग्रह गरेपछि उसकै लागि दोखमा गीत गाएको हुँ ।’ कवि तथा गीतकार श्रवण मुकारुङको शब्द, आभाषको संगीत रहेको गीतलाई नेपथ्य ब्याण्डले एरेन्ज गरेको हो । गीतले फिल्मको आवरण बोलेको छ । फिल्मका अधिकांश कलाकारहरुलाई गीतमा प्रस्तुत गरिएको छ । लाइभ रेकर्डिङको प्रचलन करिवकरिव हटिसकेको अवस्थामा ‘वन चरी उड्यो’ गीत भने लाइभ रेकर्डिङ गरिएको जानकारी दिईयो ।

‘सिर्जना गर्न साह्रै गाह्रो छ’ कार्यक्रममा गायक गुरुङले भने, ‘सिर्जनालाई माया गरिदिनुभयो भने अर्को सिर्जना गर्ने हौसला मिल्नेछ ।’ यहि असार २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको कथा राजन कठेतले लेखेका हुन् ।

माओवादी द्वन्द कालखण्डमा सामुदायिक बनको मुद्धालाई लिएर दुई वटा गाउँबीचको किचलोको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, राज थापा, सुरज मल्ल, कमल देवकोटा, साजन थापा मगर लगायतका कलाकारहरुको अभिनय छ । सविन ज्ञवाली र मनोज अधिकारी चलचित्रका निर्माता हुन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा रहेको चलचित्रको एसोसियट निर्माताको रुपमा सन्तोष पाठक, धर्म अधिकारी, प्रविन पाठक, सुमिता आचार्य, दिपक खनाल, युबराज भट्टराई रहेका छन् ।