तरुण खबर
५ असार २०७९, आईतवार १६:३८
काठमाडौं । नेपालमा चिया खेतीको इतिहास निकै लामो छ । वि.सं. १९२० मा तत्कालिन प्रधानमन्त्री जङ्गबहादुर राणाले तत्कालीन चिनियाँ सम्राटको हातबाट चिनिँया जातको चियाको बीउ उपहार पाएका थिए । सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका जेठा ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं.१९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको मानिन्छ । त्यो त्यही दशक हो, जुन बेला दार्जिलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो । थापाले चियाको बिजारोपण सुरु गरेपछि अहिलेको स्थितिमा यो राष्ट्रिय आयको साधन बनेको छ ।
तर, जहाँनिया राणाशासनको अगाडी नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन् । उता दार्जिलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो । वि.सं. २००७ सालको प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो । र, यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि प¥यो । फलस्वरूप वि.सं. २०१६ सालमा झापा जिल्लाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजी स्तरको पहिलो चिया बगान स्थापना भयो । त्यस्तै, सरकारी स्तरमा पनि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नु पर्ने अवस्था थियो । यस कुरालाई ध्यानमा राखि वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू ग¥यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो । र, एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पु¥याएको योगदानलाई हृदयंगम गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम) लाई चिया क्षेत्र घोषणा ग¥यो ।
चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो । नेपालमा हरेक बैशाख १५ गते चिया दिवस मनाइन्छ भने कफी दिवस चाँही हरेक मंसिर १ गते ।
नोट ः जंगबहादुरका ज्वाइँ–छोरी– कर्णेल गजराज सिंह थापा क्षेत्री र साथमा उनकी पत्नी महाराजकुमारी बदन कुमारी (जंगबहादुरको पहिलो सन्तान र जेठी छोरी) । कर्णेल थापा पूर्वी क्षेत्रको गभर्नर जनरल थिए । भनिन्छ– जंगबहादुरले उनलाई बिर्तामा एउटा पुरै जिल्ला दिएर सम्मानित गरेका थिए ।


