गाडी चढ्न नसकेको त्यो दिन

गाडी चढ्न नसकेको त्यो दिन शशी तिमल्सिना (थापा) ३ श्रावण २०७९, मंगलवार ११:११
गाडी चढ्न नसकेको त्यो दिन

प्राकृतिक विविधता र सौन्दर्यले भरिएको बेथाञ्चोक —२ ढुंर्खक जहाँ चोरण्डेडाँडा, मुलडाँडा, आहालडाँडा लगायतका डाँडाहरुमा हरियाली र स्वच्छ वातावरण छ । अनि दुर्लुङ्खोला, गोरेगैरोखोला, पाट्नेखोला र बागनेखोलाको सफा र सङ्लो कलकल पानी बगिरहन्छ । त्यो बेथाञ्चाोक न त फोहोरको दुर्गन्धले प्रदुषित छ, न त बस गाडीको हरनको आवाजले कान नै थुन्न पर्छ । त्यहाँ त चिरविर चिरविर चरीको आवाज, सङ्लो अनि कलकल बगेको पानी, स्वच्छ र स्वस्थकर हावा बगिरहन्छ । यो त्यो ठाउँ हो जहाँ सामाजिक, साँस्कृतिक र धार्मिक आस्थाका धरोहर जो सबैलाई आफन्त ठान्नुहुन्छ, सबैलाई बराबर मायाँ गर्नुहुन्छ र आफूसँग जे छ सबैलाई बाँडिचुँडी खानुहुन्छ त्यस्ता हजुरबुबा, हजुरआमा, आमा बुबा, काका काकी तथा दाजुभाइ दिदीबहिनी बस्नुहुन्छ ।

हो म त्यही बेथाञ्चोक–२ ढुंर्खकमा जन्मी हुर्केकी छोरी । मैले बाल्यकाल र विद्यालय शिक्षा त्यहीँ पूरा गरेँ । मेरो बुबा डा.बलराम तिमल्सिना श्री पार्वती माविको प्रधानाध्यापक हुँदा नै वि.सं २०४९ सालमा कक्षा १ मा भर्ना गरिदिनु भयो । मैले २०५९ सालमा त्यसै विद्यालयबाट एस.एल.सी पास गरँे । २०५० सालमा बुबा प्रधानाध्यापक छाडेर निजामति सेवामा प्रवेश गर्नुभयो र काठमाडौँ जानुभयो । बुबा काठमाडौँ गएपछि मलाई पढ्नको लागि पटक पटक काठमाडौँ जाउँ भन्नु भयो । तर मैले हजुरबुबा र हजुरआमालाई छोड्न सकिन…..सकिन । म जन्मिएको हुर्किएको स्वच्छ, सफा र हराभरा बेथाञ्चोक । त्यसैले मैले विद्यालय शिक्षा पार्वती मावि बेथाञ्चोक २ ढुंर्खकबाटै पूरा गरें ।

कक्षा ६÷७ तिर पुगे पछि मैले छोरा र छोरीबीचको फरक, छोरी अन्मिएर अर्को घरमा जानु पर्ने, उस्ले आफ्नो थर फेर्नु पर्ने आदि बारे अलि अलि बुझ्न थालेँ । मेरा छरछिमेकका दिदीहरु रुँदै रुँदै डोलिमा चढेर अन्मिएको अनि कति दिदीहरु परिवार र समाजको अनुशासन तोडेर, बुबा आमाको स्वीकृत बेगर आफैँ दुलाहा रोजेर हिडेको पनि म देखिरहन्थे अनि म भित्रभित्र प्रतिज्ञा गर्थँे कि म भने परिवार र समाजको अनुशासन तोड्दिन र बुबा आमाको मन पनि दुखाउँदिन र उहाँहरुको सपना चकनाचुर पनि पार्दिन भनेर ।

आखिर भयो पनि त्यही । मेरो जिन्दगीमा धेरै साथीहरु भए र छन् महिला र पूरुष दुबै । तर विवाहभन्दा पहिले मैले जीवन बिताउने साथीे बनाइन र प्रयास पनि गरिन । हजुरबुबा, बुबा र आमाले हेरेको, उहाँहरुले छानेको र मेरो समेत चित्तले खाएको वरसँग विवाह गरें । यहाँ मैले यो भन्न खोजेको हैन कि आफूले प्रेम गर्नु हुँदैन, केटा छान्नु हुँदैन आदि । मेरो सोचाई यति मात्रै हो कि उमेर नपुगी, पढाइ नसकाई बाबु आमाको जानकारी बिना विवाह गरेर हिड्दा सायद जिन्दगीको यात्रामा समस्याहरु आउन सक्छन् ।

मेरो स्नातकसम्मको पढाइ पूरा नहुञ्जेल न बुबाले मेरो विवाहको कुरा उठाउनुभयो न हजुरबुबाले नै । कहिलेकाहीँ हजुरआमा र आमाले छोरीको अब त बिहे गर्न पर्छ है, तेरो केटो भए भन हामी उसैलाई दिन्छौं भन्नुहुन्थ्यो, म भने फिस्स हाँसेर सबै टारी दिन्थँे । जब म स्नातकोत्तर तहमा पढ्न थालेँ बुबा र हजुरबुबा दुबै जनाले मेरो विवाहको चासो राखेको थाहा पाएँ । घरमा माग्न आएको पनि थाहा पाएँ । बुबा र हजुरबुबा दुबैलाई मन परेको र मनले खाएको घर परिवारको छोरा इन्जिनियर उत्तमकुमार थापासँग मेरो भेट गराउने चाँजो पाँजो मिलाउनु भएछ बुबाले । बानेश्वर स्थित एलिनाज बेकरी क्याफेमा दुबैका परिवारसहित हामीले भेट्याँै, जीन्दगीका यात्राको बारेमा छोटो तर सटिक छलफल गर्यौँ र एकले अर्कालाई जिन्दगीभर साथ दिने स्वीकृति दिएर उठ्यौँ । सोही कुरा दुबै पक्षका अभिभावकलाई जानकारी गराइयो र हामी दुई बीच विवाह हुने निश्चित भयो । २०६९ साल आषाढ १० गते मेरो विवाह महेन्द्र पुलिस क्लब, बागबजारमा भयो ।

२०६९ साल आषाढ १० गते बाजागाजाका साथ मलाई लिन जन्ती लिएर आउनुभयो थापा परिवार । मलाई बाजागाजा बजेको एकदम मन पर्ने, बाजा बजेको सुन्ने बितिकै नाच्न मन लाग्ने म त्यो दिन त के भयो खै, त्यो बाजाको आवाज कानमा पर्ने बितिक्कै हात खुट्टा कामे जस्तो भयो, एकाएक आँखाबाट आँसुका धारा बग्न थाले, बल्लतल्ल आफूलाई सम्हाल्दै दुलाहाको स्वागत गर्दै जग्गेमा बसँे । र, परम्पराअनुसार विवाह सम्पन भयो ।

बाहिर झमझम पानी परिरहेको थियो, जसरी बाहिर पानीको झमझम आवाज आइरहेको थियो त्यसरी नै भित्र मेरो मन आत्तिरहेको थियो । अब अन्माउने बेला भईसकेको थियो । म सकी नसकी जग्गे घुम्दै थिएँ । एक छिन त बुबालाई अगाडि देख्दै थिएँ तर केही क्षणमा बुबा हराउनुभयो, हजुरबुबा पनि देखिनु भएन, हजुरआमालाई काकी र भाउजुहरुले घेरेका थिए । म भने सम्हालिन सकिन, आमा र शारदा काकी भक्कानिदै मलाई समाउँदै हुनुहुन्थ्यो । ज्वाइँलाई बुबाले डोर््याएर अन्माउनु पर्ने तर रामशरण ठूलोबुबा र विष्णु ठूलो बुबाले डो्याउनु भएको थियो । सोचेको थिएँ अन्मिने बेलामा हाँसी हाँसी अन्मिन्छु भनेर तर जति कोसिस गर्दा पनि आफूलाई रोक्न सकिनँ ह्वाँ ह्वाँ रुन आयो ।

म जिन्दगीमा दुई पटक त्यसरी रोएको छु, एक पटक जन्म घर छाडेर कर्म घर जान अन्मिदा र अर्को पटक हजुरबुबाको निधन हुँदा । सिंगारिएको कार मलाइ जर्बरजस्ती रामशरण ठूलो बुबाले घुमाउनु भयो । जब तीन पटक जग्गे र कार घुमेर कारभित्र पस्न पर्ने बेला भयो मेरो पैताला कारमा चढ्न उठ्दै उठेनन्, मेरो सम्पूर्ण शरीर लुलो भयो । मलाई लाग्यो मैले टेकेको धर्ति भासिँदै छ तर के गर्ने आखिर जानै पर्दथ्यो । रामशरण ठूलो बुबा र विष्णु ठूलो बुबाले कारमा राखिदिनु भयो । मलाई गाडीमा चढ्ने बहुत रहर लाग्थ्यो, बुबालाई अफिस लिन र घर पु्याउन आउने गाडी चढ्न रहर गर्थेँ तर बुबाले अफिसको गाडीमा कतै घुमाउन लानु हुन्नथ्यो । कहिले काहीँ अफिस जाने बेलामा बाटो एउटै प्यो भने मात्र ल बस म बाटोमा छोडिदिन्छु भन्नुहुन्थ्यो म रमाएर गाडी चढ्थेँ । तर त्यस दिन न गाडी चढ्ने रहर आयो न जाँगर नै ।

भोलिपल्ट दुल्हन फर्काउन माइतिघर आयौँ । मलाई भने मनमा खुल्दुली चलिरहेको थियो कि हिजो मलाई अन्माउन बुबा र हजुरबुबा किन आउनु भएन । हजुरआमालाई किन घेरे अनि मेरा दुबै भाइहरु र बहिनी सिर्जना कता गए जस्ता कुराहरु । उहाँहरुले मेरो हात समातेर दुई–चार शब्द भनेर मलाई गाडीमा चढाउनु भएको भए मेरो मन त्यति धेरै रुँदैन थियो कि, त्यति धेरै छटपटी हँुदैन थियो कि भन्ने भइरह्यो । माइतिघर पुग्दा मेरो बुबा तल गेटमा नै कुरिरहनु भएको रहेछ । बुबालाई देखेर न त हाँस्न नै सकें न त रुन नै एकोहोरो हेरिरहें । बुबाले स्वागत गर्दै माथि लैजानुभयो । माथि गए पछि दुल्हन फर्काउने साइतको सबै परम्परा सकिएपछि आमाले हिजोको त्यो सब के भएको थियो, स—बिस्तार बताउनु भयो । बुबा मलाई अन्माउन नसकेर भित्र कोठामा मुर्छित हुनु भएछ, हजुरबुबा बसेको कुर्सीमा नै डाँको छोडेर रोएर बस्नु भएको थियो रे अनि हजुरआमा बेहोस भएको कारण कोही पानी छम्कने त कोही बर्कोले हम्कँदै थिए रे । सानो बुबा, भाइहरु र बहिनी कुनातिर बसेर रुँदैथिए रे । त्यसैले मलाई अन्माउन सकि नसकी मेरो आमा, काकी आमा र ठूलो बुबाहरु आउनु भएको रहेछ ।

मैले सानोमा गाउँघरमा सुनेको थिएँ, छोरी पराई घरमा जान पर्दछ र छोरीको लागि माइती घर र कर्म घर दुबै पराई घर हुन्छ भनेर तर त्यो होइन रहेछ । मनमा सधँै लागिरहन्थ्यो अब म विवाह भएर घर गएपछि मेरो हजुरबुबा, हजुरआमा, बुबा, आमा, भाइहरुले पहिलाको जस्तो माया प्रेम गर्दैनन् होला भनेर । त्यस्तो होइन रहेछ, झन मायाँ त गाढा पो हुँदो रहेछ । विवाहभन्दा पहिले अफिस गएर आउँदा होस् वा कतै बाहिर गएर आउँदा होस्, साँझ ६ बजेसम्म घर नपुगे बुबाले बार बार कहाँ आइपुग्यौ छोरी भन्दै ५÷५ मिनेटमा फोन गर्ने अब नगर्ने पो हो कि भनेर मन भित्र डरैडर थियो तर बुबाले दैनिक छ बजेभित्र छोरी घर पुग्यौ भनेर फोन गर्नुहुन्छ । फरक यति रहेछ कि हिजोसम्म कहाँ आइपग्यौ भन्ने बुबा मलाइ अन्माएर पठाएको दिनदेखि घर पुग्यांै भन्न थाल्नुभयो । हिजोसम्म खाना खान छिटो आऊ भन्ने बुबा आजबाट खाना पकायौं ? सबैलाई खुवाएयौं ? अनि तिमीले राम्रोसँग खायौ ? भन्न थाल्नुभयो । सायद यही त होला फरक ।

आज विवाह भएको १० वर्ष भयो, मैले गाउँमा सुनेका ति सब कुरा सत्य होइन भन्नेमा पूर्ण विश्वस्त छु । म भित्रिएको घरमा पनि मेरो बुबा, आमा जस्तै मलाई स्वागत गर्न ससुराबुबा र सासुआमा बस्नु भएको थियो । उहाँहरुले छोरी अन्माएर पठाउनुभयो अनि मलाई भित्र्याउनु भयो, फरक के छ र उही त हो नि । त्यहाँ पनि मलाई माइतीमा माया गर्ने दिदी बहिनी जस्तै नन्द आमाजु थिए, जो भाउजु भित्र्याउन पाउँदा अत्यन्तै खुसी र प्रफुल्ल थिए । त्यति मात्र हैन त्यहाँ हजरबुबा हजुरमुआमा पनि हुनुहुन्थ्यो जसले मलाई नातिनीकै व्यवहार गर्नुहुन्छ ।

त्यसैले सामाजिक परम्परा रिति रिवाज मात्र होइन कि सृष्टिको नियमलाई नियमित राख्न पनि त छोरा छोरीको विवाह गर्नैप्यो । पूर्वीय समाजमा छोरालाई अन्माएर अर्को घरमा पठाएको थाहा छैन, एक न एक जना त अन्मी नै पर्यो । जन्मिएको घर छोड्नै पर्यो । त्यो छोड्ने काम परम्परादेखि छोरीको भागमा पर्यो के गर्ने ? विवाह भएको १० वर्षबीचमा यी सबै अनुभूति भएको हो मलाई पनि ।

तर जतिसुकै बुझेको भए पनि विवाहको दिन माइतिघर छोडेर डोली चढ्न वा कार चढ्न कति कठिन हुन्छ भन्ने कुरा बेहुली भएकालाई मात्र थाहा हुन्छ । मलाई पनि भएको थियो कि यो कारमा नचढी भागौँ कि क्या हो, चिच्याएर जान्न भनाँै कि क्या हो तर सकिएन भन्न र भाग्न पनि । आज त्यही घरमा रमाएको छु, हजुरबुबा त बित्नु भयो, हजुरआमा, बुबा र आमा असाध्यै खुसी हुनुहुन्छ । भाइहरु मसँगभन्दा भिनाजुसँग गफिन्छन् । ससुराबा, सासुआमा, नन्दहरु र श्रीमान साह्रै सहयोगी हुनुहुन्छ । छोरी जन्मिएर पारिवारिक फुलबारीमा छुनुमुनु गर्छिन, झन अब त मेरो सबैभन्दा मिल्ने प्यारो साथी भएकी छिन्, त्यै घर साह्रै रमाइलो भएको छ । जिन्दगीको यात्रा यस्तै त रहेछ, अझ अगाडी कसरी बढ्ने हो थाहा छैन, सकेसम्म सहज र सरल बनाउने कोसिसमा छु । आगे ईश्वरको जो आज्ञा !! अस्तु