२०४६ माघ १९ गते गणेशमान सिंहको निवासमा बसेको नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त बैठकले तय गरेका आन्दोलनका कार्यक्रममा व्यापक जनसहभागिता देखिन थाल्यो । फागुन ७ गतेदेखि पञ्चायत नढलेसम्म निरन्तर आन्दोलन अघि बढाउने तय भएको थियो । राजधानी काठमाडौंलाई विशेष रूपमा फोकस गरिएको थियो । काठमाडांैमा बनेको १५ सदस्यीय एक्सन कमिटीमा जगन्नाथ आचार्य संयोजक थिए । बाग्मती अञ्चलका आठ जिल्लाका सभापति तथा मार्शलजुलुम, हरिबोल भट्टराई, दामोदर गौतम, तीर्थराम डंगोल र मलगायत १५ जनाको एक्सन कमिटी बन्यो । भरत उप्रेती धादिङका सभापति थिए । प्रायः उनको बानेश्वरस्थित घरमा बैठक बस्थ्यो । त्यो बैठकमा आन्दोलन कसरी अघि बढाउने, माथि नेताहरूबाट आएको निर्देशन कार्यकर्तास्तरसम्म पु¥याउने संयन्त्र कसरी निर्माण गर्ने ? भन्ने विषयमा लामो छलफल भयो ।
आन्दोलन सञ्चालन गर्नुपर्ने भएकाले काठमाडौंका मान्छेले भरसक गिरफ्तारी नदिउन् भन्ने नेताहरूको चाहना थियो । त्यो बेला मोबाइल टेलिफोनको सुविधा थिएन । ल्यान्डलाइन टेलिफोन पनि बडो जोगिएर गर्नुपर्ने अवस्था थियो । त्यसैले सूचना प्रवाहलाई बैठकले प्रमख प्राथमिकता दियो । बैठक कहिले कहाँ, कहिले कहाँ हुन्थ्यो । एक ठाउँमा बैठक बस्न सम्भव पनि थिएन । सरकारले सीआइडीहरू छ्याप्छ्याप्ती छाडेको थियो ।
फागुन ७ गते धरहरामा जम्मा हुने कार्यक्रम तय गरिएको थियो । आन्दोलनको प्रतिकारका लागि मण्डलेहरू पनि त्यहीँ जम्मा हुने तय भएको थियो । केही मण्डलेहरू जम्मा भएका पनि थिए, तर उनीहरू आन्दोलनकरीद्वारा लखेटिएपछि खुलामञ्चमा पुगेर एकीकृत भए । फागुन ७ गते प्रजातन्त्र दिवस मनाउन जम्मा भएको पञ्चहरूको जुलुसभन्दा आन्दोलनकारीहरूको जुलुस निकै गुणा ठूलो भयो । यो देखेपछि पञ्चहरूमा भागाभाग भयो । हरिबोल भट्टराई, पद्मरत्न तुलाधर, राधाकृष्ण मैनालीहरू फागुन ७ गते नै समातिएका थिए । हुन त उनीहरूलाई काठमाडौंमा नआउनु भनिएको थियो, तर उनीहरू आए । धरहरामा जम्मा हुने भनिएको थियो । धरहरामा जम्मा हुन नदिएपछि न्युरोडबाट जुलुस सुरु भयो । मान्छे थपिँदै गए, जुलुस ठूलो हुँदै गयो । असन, इन्द्रचोक सबै भरियो । उता प्रतिकार जुलुस गर्ने भनेर पञ्चहरू टुँडिखेलमा जम्मा भए । उनीहरू त्यहाँबाट निस्कने आँट गरेनन् । प्रहरीले घेरा हालेर उनीहरूको सुरक्षा दियो । तर त्यसपछिका केही दिन आन्दोलनले खासै गति लिन सकेन ।
आन्दोलन सुरु हुने अघिल्लो दिन फागान ६ गतेसम्ममा ठूला नेताहरूलाई नजरबन्द गरिसकिएको थियो । अन्य दुई–चार सय नेताहरूलाई पनि गिरफ्तार गरिसकिएको थियो । एक्सन कमिटीका हामीहरूले भूमिगत रूपमै कार्यक्रम तय गरिरहेका थियौं । लगातार चार दिनभन्दा बढी एकै ठाउँमा भूमिगत बस्दा प्रशासनले थाहा पाउने सम्भावना रहन्थ्यो । भूमिगतका क्रममा म नैकापसम्म गएर बसेको छु त्यतिबेला ।
नक्सालका कार्यकर्ता थिए एकजना किरण भन्ने । उनको दिदीको घर रहेछ नैकापमा । मार्शलजीले भूमिगत बस्न मलाई त्यो ठाउँ बताइदिए । टाढा भएकाले आतेजातेको समस्या पनि भयो । श्रीराम श्रेष्ठ पनि एक्सन कमिटीमा थिए । त्यहाँ उनी पनि आइपुगे । आतेजाते गर्ने साधन पनि भएन, मिटिङ एटेन्टका लागि सम्पर्क गर्ने अवस्था पनि भएन भनेर राति हामी दुईजना खोलैखोला हिँडेर आयौं । कुलेश्वरमा तीर्थराम डंगोलको घर नजिकै साथी मनोज्ञप्रसाद लाकौल बसिरहेका थिए । म त्यहीँ गएर बसेँ । श्रीराम श्रेष्ठ पाटन गएर बसे । लाकौलजी कहाँ फोन थिएन । अलि पर मोटर बनाउने ठाउँमा पुगेर फोन गर्नुपर्ने भयो । त्यहाँ पनि गाह्रो भएपछि म ढोकाटोलमा आएँ । त्यतिबेला आन्दोलन अलिकति सिथिल सिथिल जस्तो भइरहेको थियो । कहिले थाल बजाउने, कहिले सिठ्ठी फुक्ने, कहिले बत्ती निभाउने कार्यक्रम थियो । इफेक्टिभ कार्यक्रम नै हुन सकिरहेको थिएन । यस्ता कार्यक्रम वाहियात हुन् जस्तो मलाई लाग्यो ।
पहिले जनताले आन्दोलन हाँक्छन् पछि आन्दोलनले जनतालाई हाँक्छ भने जस्तै यहाँ पहिले जनताले आन्दोलनलाई अघि बढाउन खोजे, पछि आन्दोलनले जनतालाई हाँक्न थाल्यो । यसपछि अराजकता उत्पन्न हुने त होइन ? भन्ने अवस्था र्सिजना भयो ।
टेकुबाट हरेन्द्रबहादुर श्रेष्ठकहाँ आएपछि मलाई अलिकति सजिलो भयो । त्यहाँबाट गल्ली गल्ली हुँदै आफ्नो घरतिर आउन पनि मलाई सजिलो भयो । उता बैठक बोलाएर साथीहरूसँग भेटघाट गर्ने, आन्दोलनलाई चर्काउने अभियानमा पनि सजिलो भयो । यो पोस्टर सोस्टरले हुँदैन, अर्कै किसिमले आन्दोलनलाई अघि बढाउनुपर्छ भन्दाभन्दै बत्ती निभाउने कार्यक्रम सफल हुन थाल्यो । राति जहाँसुकै बत्ती निभ्नुको संकेत थियो– ‘आन्दोलनप्रति जनसमर्थन ब्यापक बढ्न थालेको छ ।’ यसपछि सडकमा टायरहरूसमेत बल्न थाले । क्रमशः आन्दोलनले चर्को रूप लियो । यति चर्को रूप लियो कि कफ्र्यूले पनि काम गरेन । पाटन, कीर्तिपुरलगायतका क्षेत्रहरूबाट प्रहरी लखेटिए । यी क्षेत्रमा प्रहरी प्रवेश गर्नसक्ने अवस्था नै रहेन । काठमाडौंको कोर एरियामा समेत गल्लीगल्लीमा पञ्चायती व्यवस्था मुर्दावाद भन्ने नारा लाग्न थाले कफ्र्युको समयमा पनि । टायर बालेपछि प्रहरीहरू आउन डराउँथे ।
चैत ८ गते भक्तपुरमा गोली लागेर ६ जना सहिद भएपछि आन्दोलन तातेको हो । भक्तपुरमा आन्दोलन चर्कँदा पनि काठमाडौं, पाटन र कीर्तिपुर नर्जुमुराएपछि भक्तपुरका जनाताले पाटने र कीर्तिपुरेका नाममा चुरा र पोते पठाए भन्ने हल्ला सर्वत्र भयो । पाटनेहरूले आत्मग्लानि महसुस गरे । पाटने तथा कीर्तिपुरेहरूले पनि आफ्नो हिम्मत प्रदर्शन गर्न आन्दोलन चर्काए । भक्तपुर जस्तै पाटन र कीर्तिपुरको कोर एरिया आन्दोलनकारीको कव्जामा पुगेपछि काठमाडौंको कोर एरिया पनि जुर्मुराउन थाल्यो । प्रहरीको कमान्डो सिभिल ड्रेसमा गएर थप ज्यादती गर्न थालेपछि घरमा सबै मान्छे सडकमा निस्कन बाध्य भए ।
केटाकेटी बुढाबुढी, छोरीमान्छे सबै आ–आफ्ना घरमा भएका हातहतियार, हातहतियार नहुनेहरूले कुटो–कोदाला, गैची लिएर सडकमा निस्के । कांग्रेसका तर्फबाट रामलाल र सुधा मुल्मी, कम्युनिस्टका तर्फबाट सिद्धिलाल सिंह, लीलामणि पोखरेलले आन्दोलनकारीको नेतृत्व गरे । पाटनमा पनि चार पाँचजना सहिद भए । कीर्तिपरमा सातजना सहिद भए । तत्कालीन गृहमन्त्री निरञ्जन थापाले कीर्तिपुरमा हेलिकप्टरबाट गोली छोड्यो भन्ने हल्ला सुनियो । आन्दोलन दवाउन तलबाट पनि टियर ग्याँस छाड्ने गोली हान्ने यावत ज्यादती गरिएकै थियो । धनुषाको जदुकोहा, भरतपुर तथा पोखरामा सुरुदेखि नै आन्दोलन चर्किसकेको थियो । चैत ९ गते शिवधारी यादवलाई पक्राउ गर्न जदुकुवास्थित उनको घरमा प्रहरी पुग्यो । त्यसको महिलाहरूले प्रतिकार गर्दा जानकी देवी, मुनेश्वरी देवी, सोनावती देवी, बालक उदयशंकर मण्डललगायत ६ जनाले सहादत प्राप्त गरे । त्यतिबेलासम्म धेरै मान्छे सहिद भइसकेका थिए । हेटौंडामा पनि सुरुमै आन्दोलन तातेको थियो ।
चैत २४ गते पाटन र कीर्तिपुरबाट ठूलो जुलुस काठमाडौं प्रवेश ग¥यो । लाखौंको जुलुस कुटो, कोदालो तथा घरेलु औजार लिएर काठमाडौं प्रवेश गरेपछि असन इन्द्रचोकबाट पनि त्यति नै मान्छेहरूको ओइरो सडकमा पोखियो । थामिनसक्नुको भीड थियो । रत्नपार्कमा जम्मा भएर आमसभा गर्ने तयारी हामीले गरेका थियौं, तर जुलुस त अनियन्त्रित भएर नारायणहिटी राजदरबारतर्फ अघि बढ्यो । एकजना कसैले राजदरबार घेर्न जाऔं भनेपछि जुलुस हो हो जानुपर्छ भन्दै गइहाल्ने । कसैले होइन, नजाउँ भन्यो भने ए यो त आन्दोलन विरोधी पो रहेछ भन्दै त्यहीँ कुटाई खाइहाल्ने अवस्था थियो । यस्तो अवस्थामा को बोल्ने ? सरकारी सुरक्षाकर्मीहरू नारायाणहिटी राजदरबार र त्यस अगाडिको महेन्द्रको सालिक जोगाउनमै सीमित भए ।
(यो लेख स्वर्गिय श्यामलाल श्रेष्ठसँग केही वर्षअघि परशु घिमिरेले गरेको कुराकानीमा आधारित छ । उनी नेपाली काँग्रेसका पुराना नेता हुन्)