पाल्पामा निरन्तरको झरीले राजमार्ग अवरुद्ध

पाल्पामा निरन्तरको झरीले राजमार्ग अवरुद्ध तरुण खबर २१ आश्विन २०७९, शुक्रबार ११:२१
पाल्पामा निरन्तरको झरीले राजमार्ग अवरुद्ध

पाल्पा । पाल्पाका विभिन्न स्थानमा पहिरो खस्दा मुख्य राजमार्गसहित सहायक मार्गहरू अवरुद्ध बनेका छन् ।

सिद्धार्थ राजमार्गको दोभान, हिउँदेखोला, चर्चरेलगायतका स्थानमा पहिरो खस्दा शुक्रबार बिहानैदेखि राजमार्ग अवरुद्ध बनेको छ । अबरुद्ध राजमार्ग खुलाउन दुई वटा लोडर प्रयोग भइरहेको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण सिद्धार्थ राजमार्गमा पहिरो खस्दा बिहान ७ बजेदेखि सडक अबरुद्ध बनेको दोभान प्रहरी चौकीले जनाएको छ ।

यस्तै रामपुर आर्यभाङ्ज्याङ् सडकखण्ड, बाँसटारी झडेवगा सडकखण्डको विभिन्न स्थानमा खसेको पहिरोले बिहीबार साँझदेखि नै सडक अबरुद्ध छ । यस्तै ग्रामीण क्षेत्रमा जाने सडक समेत पहिरोका कारण अबरुद्ध बनेको प्रहरीले जनाएको छ । मुख्य राजमार्ग तत्कालै खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

सडक अबरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । कतिपय स्थानमा यात्रु हिडेर गन्तव्यमा जान बाध्य छन् ।