तरुण खबर
१४ कार्तिक २०७९, सोमबार १९:०४
काठमाडौँ । बलात्कार आरोपमा सोमबार अदालतमा मुद्दा दर्ता गरिएका क्रिकेटर सन्दीप लामिछानेको चल अचल सम्पत्ति रोक्का गर्न माग गरिएको छ।
काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार सन्दीपको एनआईसी एसिया बैङ्कमा रहेको खातामा रहेको रकम रोक्का गर्न माग गरिएको छ भने उनको नाममा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सन्दीपको बैङ्क खातामा ६५ हजार २ सय ९८ रुपैयाँ रहेको पाइएको बताए । जबरजस्ती करणी मुद्दामा पीडितलाई क्षतिपूर्तिको व्यवस्था रहेकाले आरोपीको नाममा रहेको बैङ्क खाता र जग्गा रोक्का गर्ने चलन रहेको उनले बताए।
सन्दीपविरुद्ध १० देखि १२ वर्ष कैद सजाय माग गर्दै काठमाडौँ जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता भएको छ । सन्दीपविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कार आरोप लगाएकी थिइन् । सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् । अभियोग पत्र सोमबार भए पनि बयान र थुनछेकको बहसको काम मङ्गलवारबाट मात्र सुरु हुने छ।


