बनेपा प्राचीन नाम वनेपुर वा धर्मपुर थियो । र, यो एक ऐतिहासिक स्थान हो । धनुषाकार भैंm बसेको यो बजार राजधानी काठमाडौंदेखि २६ किलोमिटर पूर्व र जिल्लाको सदरमुकामदेखि तीन किलोमिटर पश्चिममा पर्दछ । चण्डेश्वरी र धनेश्वरी डाँडाहरुको बीच बसेको बनेपा बजार समुन्द्री सतह करीब १,४३८ मिटर (४,७१६ फीट) उचाइमा छ । चण्डेश्वरी वनको हरियो राम्रो सल्लाघारीलाई पृष्ठभूमिको रुपमा पाएर सजिएको बनेपाको हावापानी काठमाडौंकोभन्दा स्वस्थ्यप्रद छ । काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहिआएको बनेपा राजधानीभन्दा पूर्वतर्फको पहाडी क्षेत्रको पनि सबैभन्दा ठूलो बजार हो ।
बनेपा भोलखाटोलस्थित गोरखानाथ मन्दिरमा पाइएको शिलालेख शिवदेव मल्ल प्रथमको पालाको हो । र, यसबाट बनेपाको प्राचीनता झल्किन्छ । यहाँ विभिन्न देव देवताका मठ–मन्दिरहरु, मल्ल राजाको पुरानो दरबारको भग्नावशेष, गणेश–मूर्ति सहितको शहर पस्ने ढोका, कुण्ड तथा पाटीहरुले पुरातात्विक महत्व राखेका छन् । बनेपा शहर वर्णिपुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि ’बनेपा’ हुन आएको हो । नेवार समुदायमा यस शहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरेका छन् । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ ।
बनेपालाई ’भुज’ पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव र अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा ’चन्द्रेश्वर (चण्डेश्वर महादेव) ङ ग्रामस्तत’ उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । ’ङ ग्राम’ भनी उल्लेख भएको छ । यो ठाउ किरातकालमा नै गाउँका रूपमा विकसित भइसकेको हुनुपर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ बाट आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउँ छन् । राजा अभय मल्लको शासनकालको चाँगुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई ’बनिंयप्य’ उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यो शहरलाई ’विनयापुरी’ उल्लेख गरिएको छ ।
बनेपामा पहिले ’भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष ४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपा वरिपरिका स–साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नयाँ बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाई दिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा–एउटा दाफा भजन हुन्थे । यस ठाउँका मानिसहरू बिहान–बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे, बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन्, चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन् ।
बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउँठाउँमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको थियो । यहाँ नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन् । किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।