लि क्वानबाट नेपालमा शिक्षा हाँक्नेले केही सिक्ने कि ?

लि क्वानबाट नेपालमा शिक्षा हाँक्नेले केही सिक्ने कि ? डा. बलराम तिमल्सिना ११ मंसिर २०७९, आईतवार ०९:२०
लि क्वानबाट नेपालमा शिक्षा हाँक्नेले केही सिक्ने कि ?

नेपालमा जब संसदीय निर्वाचन आउँछ तव राजनीतिज्ञहरु नेपाललाई सिंगापुर, स्वीटजरल्याण्ड, दक्षिण कोरिया, जापान वा युरोप र अमेरिका जस्ता विकसित मुलक बनाउँछौ, हाम्रो दललाई भोट दिनुहोस् भनेर भाषण गर्दछन । यस्तो भाषण २०४६ सालको बहुदल पछिका प्रत्येक निर्वाचनमा सुनिएका छन् । लोकप्रिय भाषणबाट निर्वाचन त जितिन्छ तर देश बनाउनको लागि दूरदृष्टि, दृढ इच्छाशक्ती, विज्ञताका साथै स्वच्छ र इमान्दार छवि भएको नेताको आवश्यकता पर्दछ ।

माथी उल्लेखित देशहरु त्यसै विकसित बनेका होइनन् । कुनै न कुनै समयमा कुनै एक नेताको अतुलनीय योगदानका कारण आजको अवस्थामा आइपुगेका हुन । विकासका विभिन्न आयामहरु आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक साथै भौतिक पूर्वाधारको प्रगति र उन्नतिले देशलाई समृद्घ र वैभबशाली बनाउँछ । जनता सुखी र खुसी हुन्छन् । म यो छोटो लेखमा यी सबै देशका विकासका आयाम, त्यसको लागि राजनीतिक दल वा त्यसका प्रमुख नेताको भूमिका सबैको बारेमा छलफल वा उल्लेख गर्न गै रहेको छैन ।

नेपाली नेताहरुले बारम्बार लिने नाम सिंगापुर र सिंगापुर बनाउने राजनेता लि क्वान यिउले सिंगापुरको शिक्षालाई विश्वकै उत्कृष्ट बनाउन के कस्ता कार्य गरेका थिए र त्यसबाट हामी र हाम्रा नेताले के सिक्नु पर्छ भन्ने बारेमा छलफल गर्न गै रहेको छु ।

मैले सिंगापुर नै किन छानँे भने यो देशको शिक्षा विश्वको उत्कृष्ट मध्ये एकमा पर्दछ । विश्वका विभिन्न देशमा गरिने उपलब्धी परीक्षण (Program for International Student Assessment –PISA) मा सिंगापुर लगातार उत्कृष्ट ३ भित्र पर्दै आएको छ ।

लि क्वान सिंगापुर स्वतन्त्र भए पछिका पहिलो प्रधानमन्त्री हुन । सन १९५९ मा ३६ बर्षको युवा उमेरमा नै लि सिंगापुरको प्रधानमन्त्री भएका थिए । ३१ बर्ष अनवरत प्रधानमन्त्री भएका लि शारीरिक र मानसिक रुपले पूर्ण त सक्षम साथै आफ्नो दलमा निर्विकल्प नेता हँुदा हँुदै पनि १९९० मा ६७ बर्षको उमेर मै साथीलाई सत्ता हस्तान्तरण गरे ।

उनकै पदचाप पछ्याई रहेको उनको पिपुल्स एक्सन पार्टीे नेतृत्वले आज पर्यन्त सिंगापुरको सत्ता समाली रहेको छ । आधुनिक सिंगापुरका निर्माणकर्ता लि एक दूरदर्शी, अनुशासित, नैतिकवान र पारदर्शी राजनेता थिए । लिको बारेमा विश्वका केही नेताको भनाइबाट पनि बुझिन्छ, उनी कुन स्तरका नेता थिए भनेर ।

बेलायती पूर्व प्रधानमन्त्री स्व.मार्गरेट थ्याचरको भनाइमा “देशको विकास, निर्माण र प्रगतीको लागि लिले जे नीति अवलम्वन गरे, अत्यन्तै सही नीति लिए । उनले आफ्नो शासन कालमा कहिल्यै गलत गरेनन् ।” त्यस्तै जापानका प्रधानमन्त्री स्व. सिन्जो आवेको दृष्टिकोणमा लि आधुनिक विश्वका एक उत्कृष्ट नेता थिए । त्यसैगरी अमेरीकाका पूर्व राष्ट्रपती बाराक ओवामाले भनेका थिए की, “म लिको वौद्धिकतालाई ब्यक्तिगत रुपमा सम्मान र सह्राना गर्दछु ।” यसरी हेर्दा लि क्वान सिंगापुरमा मात्र होइन विश्वका नेता तथा जनताबाट समेत उत्तिकै प्रशंसित थिए ।

लि क्वानको नेतृत्वमा सिंगापुर एक विकासोन्मुख राष्ट्रबाट बिकसित राष्ट्रमा फड्को मार्न सफल भयो । सिंगापुरलाई भौतिक, आर्थिक, सामाजिक, शैक्षिक र जनताको जीवनस्तरमा गुणस्तरीय सुधार ल्याउने लगायत विकासका समग्र सूचकहरुमा युरोप र अमेरिका भन्दा अगाडि पु्याए उनले ।

लिको उदय हुनुभन्दा अगाडि सिंगापुरको अधिकांश जनसँख्या अशिक्षित र निरक्षर थियो । लिले सत्ता सम्हाले पछि उनले भनेका थिए “मेरो सरकारको पहिलो दोस्रो र तेस्रो प्राथमिकता शिक्षा, शिक्षा र शिक्षा हो किनभने सिंगापुरमा अन्य प्राकृतिक स्रोत र साधनको अभाव छ, शिक्षित र सिपयुक्त जनशक्ति नै देश विकासको प्रमुख साधन हो ।” शिक्षा क्षेत्रमा लिले गरेका केहि उल्लेखनिय सुधारहरु सँक्षेपमा यसप्रकार छन् ।

मध्यम स्तरीय जनशक्ति लिको सुरुको प्राथमिकता
१९६० देखि १९७० सम्म लिको ध्यान सिंगापुरका उद्योगहरुको लागि आवश्यक पर्ने मध्यम स्तरीय जनशक्ति उत्पादन गर्नमा केन्द्रित रह्यो र सोही अनुसारको शिक्षा नीति, पाठ्यक्रम र शैक्षिक कार्यक्रम लागु गरे ।

यसको प्रतिफल देशमा उद्योग व्याबसाय फस्टायो र युवाहरुले देशमा नै रोजगारी प्राप्त गरे भने जनताको जीवनस्तरमा पनि सुधार आयो । जब पढेलेखेका युवाहरुले जागिर पाउन थाले, उनीहरुको आयस्तर बढ्न थाल्यो र व्यक्ति लगायत परिवारकै जीवनस्तरमा सुधार हुनथाल्यो, अनि सिंगापुरका सर्वसाधारण जनताको पनि शिक्षामा आकर्षण बढ्न थाल्यो । आफ्नोको कार्यकालको पहिलो दशक उनले देशमै खपत हुने मध्यम स्तरीय सिपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिए । तर उनलाई के थाहा थियो भने विकसित मुलुकसँग प्रतिस्पर्धा गर्न यस किसिमको जनशक्ति मात्र पर्याप्त छैन ।

विदेशी मुद्रा आर्जनको लागि निर्यात योग्य स्रोत र साधनको अभाव भएको कारण उच्च शैक्षिक योग्यता, ज्ञान र व्याबसायिक सिप भएका सिंगापुरका युवाहरुलाई विश्व बजारमा पु्याउनु, टिकाउनु र अब्बल प्रमाणित गर्नुमा उनको ध्यान केन्द्रित हुनथाल्यो । त्यसको लागि उनको पहिलो प्राथमिकतामा योग्य शिक्षकहरुको उत्पादन र विश्वविद्यालयको आमूल सुधार गर्ने रह्यो ।

शैक्षिक सुधारको सुरुवात विश्वविद्यालयाट
विश्वविद्यालयको नेतृत्व चयनमा पारदर्शीता र विना राजनीतिक पूर्वाग्रह प्राज्ञ तथा त्यस क्षेत्रका उत्कृष्ट व्यक्तिहरुलाई प्राथमिकता दिन थालियो । विश्वविद्यायमा अध्यापन गर्ने शिक्षहरुको वृत्ति विकास तथा व्याबसायिक दक्षतामा ध्यान दिन थालियो ।

विश्वविद्यालय सञ्चालनको लागि बजेटको आवश्यकता पर्ने पुस्तकालय, प्रयोगशाला लगायत सम्पूर्ण व्यवस्था सरकारी तवरबाट नै गरिन थालियो । यी व्यवस्थाको कारण विश्वविद्यालयहरुमा परिवर्तन आयो र योग्य र गुणस्तरीय जनशक्ति उत्पादन हुन थाल्यो ।

विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनको केन्द्र
विश्वविद्यालय अनुसन्धान र नवप्रवर्तनका क्षेत्रमा दखल प्राप्त उच्च स्तरको जनशक्ति उत्पादन गर्ने थलो बन्नुपर्छ भन्थे लि । सोको लागि आवश्यकता अनुसारको प्राज्ञिक र व्याबसायिक नेतृत्व, प्रविधिमैत्रि शिक्षण सिकाइ क्रियाकलापको सुनिश्चितता र आवश्यक बजेटको पूर्ण व्यवस्था गरेका थिए ।

लि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपको पूर्ण विरोधी थिए र उनी आफैँले पनि प्राज्ञिक नियुक्ति, सरुवा, बढुवा जस्ता कुरामा कहिल्यै हस्तक्षेप गरेनन् । यसरी विश्वविद्यालयलाई देशको उच्च स्तरको जनशक्ति उत्पादन गर्ने स्वतन्त्र र स्वायत्त संस्थाको रुपमा विकास गर्न उनी र उनको सरकारले पूर्ण सहयोग गरेका थिए ।

शिक्षामा लगानी वृद्धि
विश्वविद्यालयको साथसाथै लिको दृष्टिकोण शिक्षाका समग्र तहमा (प्राथमिक देखि उच्च शिक्षा) समान रुपमा सुधार गर्नुपर्दछ भन्ने थियो । यसको लागि उनले सर्वप्रथम शिक्षामा लगानी वृद्धि गर्ने नीति लिए र सरकारी बजेटको ठूलो हिस्सा शिक्षाको लागि छुट्याए । विश्वविद्यालय देखि विद्यालय तहसम्मको भौतिक, प्राज्ञिक र शैक्षिक सुधार र प्रगतिको लागि बजेटको अभाव हुन कहिल्यै दिएनन् उनले ।

लि प्रस्ट भाषामा नै भन्थे कि “शैक्षिक संस्थाहरुलाई यो गर र त्यो गर मात्र भन्ने होइन कि, त्यसो गर्नको लागि आवश्यक पर्ने बजेटको पनि सँगै व्यवस्था गरिदिनु पर्दछ । मेरो सरकारले कुनै पनि क्षेत्रको सुधार र प्रगतिको लागि बजेटको अभाव कहिल्यै हुन दिने छैन ।”

शिक्षक शिक्षामा जोड
लि बारम्बार भन्ने गर्थे कि, देशका शिक्षक अब्बल दर्जाका नमुना योग्य हुनुपर्दछ । बालबालिकाले मात्र हैन समाजका हरेक तहका व्यक्तिले सिक्नु पर्दछ शिक्षकबाट । त्यसैले शिक्षक विद्यालयको मात्र अगुवा नभएर समाजको पनि अगुवा हो र हुनुपर्दछ । सर्वसाधारण जनताले पनि शिक्षकलाई आदर सम्मान दिनुपर्दछ, उनीहरुबाट नियमित सिक्नु पर्दछ ।

वास्तवमा सिकाइ जीवनपर्यन्त चलिरहन्छ र यसलाई गतिशील बनाइरहनु पर्दछ भन्ने दृष्टिकोण राख्थे लि । त्यसैले उनले सत्ता सम्हाले पछि सुरुमा नै शिक्षक उत्पादन गर्ने विश्वविद्यालयको सुधारका कार्यक्रम ल्याए र कार्यान्वयन गरे । यसका साथै कार्यरत शिक्षकको ज्ञान, सिप र शिक्षण कला अभिवृद्धिको लागि शिक्षकलाई नियमित सहयोग र सहजीकृत गर्ने गुणस्तरीय तालिम संस्थाहरु स्थापना गरे र शिक्षकहरुलाई नियमित तालिम दिने व्यवस्था मिलाए ।

सन् २०१५ मा विश्वले पारित गरेको दिगो विकासका लक्ष्य मध्ये शिक्षा सम्बन्धी चौथो लक्ष्यमा शिक्षक योग्य, उत्प्रेरित, तालिम प्राप्त र नियमित सहयोग पाइरहेको हुनु पर्दछ भन्ने उल्लेख गरिएको छ । तर लिले ७० को दशकमा नै भनेका थिए कि, “यदि शिक्षा गुणस्तरीय बनाउने हो भने शिक्षक उच्च स्तरको योग्यता हासिल गरेको, शिक्षा प्रति मन, वचन र कर्मले समर्पित भएको, नियमित रुपमा तालिम प्राप्त गरेको हुनुपर्दछ । यसका साथै उस्ले सरकारी तवरबाटै नियमित रुपमा शिक्षण सिकाइ क्रियाकलाप र विषयवस्तु सम्बन्धी प्राज्ञिक र शैक्षिक सहयोग पाइरहनु पर्दछ ।” उनले सोही अनुसारको व्यवस्था पनि मिलाएका थिए । विश्वले सन् २०१५ सालमा पारित गरेको विषय करिब ५० वर्ष अगाडि नै लिले आफ्नो प्रमुख नीति तथा कार्यञmममा लागु गरिसकेको कुराबाट प्रस्ट हुन्छ कि उनी कति दूरदर्शी र भविष्यद्रष्टा थिए भनेर ।

शिक्षामा व्दिभाषीय नीति
लि क्वानले शिक्षामा व्दिभाषीय नीति अबलम्बन गरे । कामकाज र शिक्षण सिकाइको माध्यम अंग्रेजी भाषा र प्रत्येक विद्यालयमा मातृभाषाको अनिवार्य अध्ययन अध्यापनको व्यवस्था गरे । अंग्रेजी भाषाको कारण सिंगापुरको जनशक्ति विश्व बजारमा बिक्ने भयो भने मातृभाषाको शिक्षणबाट आफ्नो देशको संस्कृतिको संबध्र्दन, प्रवध्र्दन र पुस्तान्तरणका साथै विभिन्न भाषा भाषिका जनतालाई सिंगापुरको झण्डामुनि एकताको एउटै धागोमा बाध्न सहज भयो ।

नियमित शैक्षिक अनुगमन र सुपरिवेक्षण
लिले शैक्षिक अनुगमन र सुपरिवेक्षणलाई अत्यन्तै महत्व दिएका थिए । उनले प्रस्ट नीति नै बनाएर विद्यालय र विश्व विद्यालयहरुको नियमित अनुगमन गर्ने संस्था र विज्ञ समुहको व्यवस्था गरेका थिए । यति सम्म कि लि आफैँ पनि प्रायः जसो सप्ताहन्तमा शैक्षिक संस्थाको भ्रमण गर्थे र त्यहाँ शिक्षक, विद्यार्थी तथा पदाधिकारीसँग खुलेर सूक्ष्म रुपमा छलफल गर्थे ।

व्यक्ति, संस्था र समुहका समस्याहरु ध्यान दिएर सुन्थे । छलफलका क्रममा उठेका प्रश्न र शैक्षिक संस्थामा देखिएका समस्या समाधानको लागि निर्णय गर्नुपर्ने विषय अनुगमनबाट फर्किए पछि तुरुन्तै सम्बन्धित निकायबाट निर्णय गराउँथे ।

शिक्षक, प्रअ तथा शिक्षा प्रशासन बिच सहकार्य
लिको समयमा शिक्षाको नीति, कार्यक्रम, पाठ्यक्रम तथा पाठ्य सामग्री निमार्णमा कर्मचारी र राजनीतिक नेतृत्व मात्र सहभागी नभएर विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई प्रत्यक्ष संलग्न गरिन्थ्यो । शिक्षा प्रशासन, कक्षाकोठा र विद्यालय प्रशासनमा काम गर्नेहरु नजिकबाट सहकार्य मात्र गर्ने होइन कि एक आपसमा सरुवा पनि हुन्थे ।

शिक्षक तथा प्र.अ शिक्षा प्रशासनमा र शिक्षा प्रशासनका व्यक्ति शिक्षक तथा प्र.अको रुपमा काजमा खटाउने व्यवस्था गरेका थिए लिले । जस्ले गर्दा शिक्षामा काम गर्ने यी तिनै समुह एकै परिवारका सदस्य सरह थिए ।

अधिकार सम्पन्न तथा जिम्मेवार प्रधानाध्यापक
विद्यालयको परिवर्तनको लागि प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समिति समान जिम्मेवार त हुन्छन् तर त्यस्को नेतृत्व प्र.अले गर्नु पर्दछ भन्थे लि । उनले भनेका थिए “सरकारी नीति नियम लागु गर्ने र सरकारले सुरु गरेको परिवर्तनकारी सुधारको एक महत्वपूर्ण सहपाठी हुन् प्रधानाध्यपक ।”

लिका सम्पूर्ण सुधारका कार्यहरु विद्यालयमा आधारित व्यवस्थापन (School Based Management –SBM) को अवधारणसँग पूर्ण त मेला खान्थे । उनले विद्यालयले गर्ने शैक्षिक र प्राज्ञिक निर्णयहरुमा प्राधानाध्यापक जिम्मेवार हुने र भौतिक विकासमा व्यवस्थापन समिति उत्तरदायी हुनुपर्ने कानुनी व्यवस्था गरेका थिए साथै आफूले पढाउने विषयमा विद्यार्थिको उपलब्धिमा शिक्षक उत्तरदायी हुनुपर्ने धारण थियो उनको ।

बिज्ञान र प्रबिधिमा जोड
जब विश्व बजारमा आवश्यक पर्ने जनशक्तिको स्वरुपमा परिवर्तन हुने सँकेत देखिन थाल्यो, लिले १९९० तिरै विज्ञान, प्रविधि, इन्जिनियरिङ्ग र गणित (Science, Technology, Engineering and Mathematics- STEM Education) मा जोड दिएका थिए ।

यस्ले के देखाउँछ भने लि एक दूरदर्शी नेता थिए । विश्वमा हुने आर्थिक, सामाजिक, औद्यौगिक परिवर्तनको पहिल्यै आँकलन गर्न सक्ने खुबी थियो उनमा । त्यसैले आज प्रविधि क्षेत्रमा विश्वमा नै सिंगापुरको उत्पादन विकेको मात्र होइन नेतृत्व नै गरेको छ । यसरी देशभित्र र बाहिरको बजारको माग अनुसार शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तक लागु गर्दथे लि ।

भौतिक वातावरण सुधारमा समान ध्यान
शैक्षिक र प्राज्ञिक वातावरणको साथै शैक्षिक संस्थाको भौतिक वातावरण पनि त्यतिकै राम्रो हुनुपर्दछ भन्ने गर्थे लि । विश्वविद्यालय र विद्यालयको भवन, सौचालय, पुस्तकालय, विभिन्न किसिमका प्रयोगशालाहरु उपयुक्त र सम्पन्न हुनुका साथै सफा हुनुपर्दछ ।

शैक्षिक संस्थाको प्रमुख ढोकाबाट भित्र पस्ने वितिकै केही सिकौं सिकौं लाग्ने वातावरण हुनुपर्दछ । शैक्षिक संस्थाको फुलबारीको उचित व्यवस्था, छात्र छात्रा खेल्ने चौर र खेल सामग्रीको व्यवस्था साथै विद्यार्थीलाई मनोसामाजिक परामर्शको लागि संस्थाले उचित व्यवस्था मिलाउनका लागि लिकै निर्देशनमा सम्वन्धीत निकायहरुले शैक्षिक संस्थाहरुलाई निर्देशन र बजेटको व्यवस्था गरेका थिए ।

अन्त्यमा यो लेख सिंगापुरमा लि क्वानले शिक्षा क्षेत्रमा के कस्ता नीति, कार्यक्रम लागु गरेर विश्वको उत्कृष्ट शिक्षा भएको देश बनाउन सफल भए भनेर छलफल गर्नुका साथै नेपालमा शिक्षा क्षेत्रको नेतृत्व लिएका कर्मचारी र राजनीतिक वर्गले केही कुरा मात्र भए पनि लागु गर्छन् कि भन्ने अभिप्राय पनि हो ।

नेपालमा कतिपय कानुनी प्रावधान उपयुक्त हुँदाहुँदै पनि कार्यान्वयनमा समस्या छन् । नीति र कुरा एउटा, कार्य अर्को हुन्छ यहाँ । त्यसैले शैक्षिक क्षेत्रलाई लि क्वानले जस्तै राजनीतिक हस्तक्षेपमुक्त गर्दै विश्वविद्यालयलाई अनुसन्धान र नवप्रवर्तनको केन्द्र बनाउने, विश्वविद्यालय तथा विद्यालय शिक्षामा भौतिक, शैक्षिक र प्राज्ञिक सुधार गर्ने, सबै तहका शिक्षकलाई सम्मान गर्दै उस्को वृति बिकासमा जोड दिने, वालबिकास शिक्षा देखि उच्च शिक्षासम्म अनुगमन र सुपररिवेक्षण व्यवस्था चुस्त र दुरुस्त मिलाउने, प्राविधिक शिक्षामा समयानुकूल विस्तार गर्ने र यी सबै क्षेत्रको उचित कार्यान्वयनको लागि आवश्यक बजेटको व्यवस्था गर्ने हो भने नेपालको शिक्षाले छोटो समयमा नै गुणस्तरीय फड्को मार्न सक्दछ । अस्तु