दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो तरुण खबर २ माघ २०७९, सोमबार १८:३२
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो ।

ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । प्रवक्ता निरौलाका अनुसार ब्ल्याक बक्स नेपाली सेनालाई बुझाइएको छ । उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने प्राधिकरणको भनाइ छ ।

पोखरा विमान दुर्घटना : पोष्टमार्टममा केही समय लाग्ने
आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन ।

पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्मार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्मार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ ।

हवाई दुर्घटनामा परी निधन भएकाको शव पोष्टमार्टम सम्बन्धमा प्रक्रियागतरुपमा टोली गठन गर्ने व्यवस्थाअनुसार सम्बन्धित निकायमा पत्राचार गरिसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिकुमार शाहीले जानकारी दिनुभयो ।

पोष्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उहाँले प्रक्रियागतरुपमा केही समय अझै लाग्ने जानकारी दिनुभयो ।