तरुण खबर
१८ बैशाख २०८०, सोमबार १३:०४
संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरुण नदीको बाँध भरिएर निस्किएको छ । आइतबार बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिरोले थुनिएको नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो ।
अरुण नदी थुनिएको ८ घण्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । डीएसपी गोदारका अनुसार दिउँसो ३ बजेबाट नदी आफ्नै धारमा फर्किएको हो । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब २ किलोमिटर पानी ताल भएर बसेको छ । टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो । अरुण नदीलाई वहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निमार्ण गरी डाभर्सन टनेलमार्फत् नदी बग्दै आएको थियो ।
जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ । अहिले आयोजनाको ड्याम साइडको अस्थायी बाँधमा पानी भरिएको छ ।


