काँडेतारलाई १० लाख, एक दर्जन स्क्रिप्ट पुरस्कृत

काँडेतारलाई १० लाख, एक दर्जन स्क्रिप्ट पुरस्कृत तरुण खबर १८ असार २०८०, सोमबार १३:४७
काँडेतारलाई १० लाख, एक दर्जन स्क्रिप्ट पुरस्कृत

काठमाडौं । गत महिना नेपाली चलचित्र काँडेतारलाई केन्द्रीय चलचित्र जाँचपास समिति–फिल्म सेन्सर बोर्ड)ले रोकेको थियो । यो फिल्मका केही दृश्य काटेपछि बल्ल सेन्सर पास गरियो । यही चलचित्रलाई चलचित्र विकास बोर्डले शनिबार १० लाख रुपैयाँ प्रदान गरेको छ ।

चलचित्र विकास बोर्डले राम्रा स्क्रिप्टका लागि ‘स्टोरी बैंक’ परियोजना सञ्चालन गर्दै आएको छ । यही परियोजनामा चलचित्र काँडेतारको स्क्रिप्ट फिचर फिल्मतर्फ उत्कृष्ट भएको छ । सो सिनेमाको कथालाई उत्कृष्ट कथा घोषणा गर्दै चलचित्र निर्माण प्रोत्साहनस्वरूप बोर्डले १० लाख रुपैयाँ प्रदान गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र काँडेतारको स्क्रिप्टलाई शनिबार चलचित्र विकास बोर्डको २३औं वार्षिकोत्सवमा समारोहमा सो रकम प्रदान गरिन् । नेपालको भूगोल र स्वाधीनता बचाउन आह्वान गरिएको चलचित्र भएका कारण यसलाई निर्माण प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ प्रदान गरिएको मन्त्री शर्माले कार्यक्रममा बताइन् । यस्ता राष्ट्रिय भावका मौलिक चलचित्र चलचित्र विकास बोर्डले सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ यो सहयोग प्रदान गर्न थालिएको पनि मन्त्री शर्माले सो समारोहमा प्रकाश पारिन् । स्टोरी बैंकमा छानिएका अन्य चलचित्रलाई पनि उनले आर्थिक सहयोगार्थ तथा प्रमाणपत्र प्रदान गरिन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा चलचित्र निर्माणका लागि राम्रो स्क्रिप्ट नभएको गुनासो आइरहेका बेला बोर्डले नै राम्रो स्क्रिप्ट चयन गरेर त्यस्ता स्क्रिप्टमा चलचित्र निर्माणका लागि प्रोत्साहन गर्न २०७७ सालबाट स्टोरी बैंकको अवधारण ल्याएको बताए ।

यो चलचित्र नेपालको अन्तर्राष्ट्रिय सीमामा काँडेतार लगाएर व्यवस्थित गर्नुपर्छ भन्ने कथामा आधारित रहेको छ । यो चलचित्र आगामी २५ फागुनबाट रिलिज हुने यो चलचित्रका निर्माता निर्देशक नवल खड्काले बताएका छन् । राज्यले आफ्नो सिनेमालाई सेन्सर पास गरी सिनेमाको स्क्रिप्टलाई पुरस्कृतसमेत गरेर देशभक्ति अभियानमा आपूmलाई सघाएको निर्देशक खड्काले बताएका छन् ।

यस्तै, यो वर्षका लागि स्टोरी बैंकमा चयन भएका फिचर फिल्मतर्फ आधा दर्जन स्क्रिप्ट र सर्ट फिल्मतर्फ आधा दर्जन स्क्रिप्टलाई पनि बोर्डलाई वार्षिकोत्सव समारोहमा प्रोत्साहन रकमसहित पुरस्कृत गरेको छ । कथानक चलचित्र निर्माणको लागि उत्कृष्ट सातवटा स्क्रिप्टलाई बोर्डले प्रोत्साहनस्वरूप पुरस्कृत गरेको छ । जसमध्ये पाँचवटाले जनही ५० हजार रुपैयाँ र दुई वटाले जनही २५ हजार रुपैयाँ पुरस्कार जितेका छन् । जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने स्क्रिप्टमा दिलबन्धु सुरज यादवको बहुरिया, सुन्दर योञ्जनको पेमा, विकास न्यौपानेको भुन्टे, अशोक गिरीको अल्ट्रा लेजेन्ड र केवश पाण्डेको फ्लटिङ लाइक ‘ए’ फेदर रहेका छन् । यस्तै, फिचर फिल्ममै २५ हजार रुपैयाँ पुरस्कार पाउने दुई स्क्रिप्टमा प्रतीक गुरुङको सफल केसीको स्क्रिप्ट रहेका छन् ।

यस्तै, लघु चलचित्र निर्माणका लागि स्टोरी बैंकमा आह्वान गरिएको स्क्रिप्टबाट ६ वटा स्क्रिप्टलाई उत्कृष्ट चयन गर्दै प्रतिस्क्रिप्ट प्रोत्साहनस्वरूप १५ हजार रुपैयाँ प्रदान गरिएको छ । जसमा निशा श्रेष्ठको बराःख्या, अनिल कुर्मीको सेनुर, हरि कुँवर (संयोज राणा)को जल, अम्बिका भण्डारीको अनन्यानी, विभूता सिटौलाको सिलाबाला र अनिल बुढामगरको द लास्ट सेफर्ड रहेको छ ।

यस्तै, चलचित्र विकास बोर्डले २३औं वार्षिक उत्सवमा बोर्डमा २०७९ सालमा प्राप्त भएका विभिन्न लघु चलचित्रमध्ये उत्कृष्ट तीन लघु चलचित्र घोषणासहित पुरस्कृत गरेको छ ।

जसमध्ये सूर्य शाही निर्देशित लघु वृत्तचलचित्र ‘ह्विल्स अन द बसु’ उत्कृष्ट भएको छ । यस्तै, मिन्सो लिम्बू निर्देशित लघु चलचित्र जन्को द्वितीय र किरण श्रेष्ठ निर्देशित लघु चलचित्र एक अनोदर विन्टर तृतीय भएको छ । प्रतियोगितामा प्रथम लघु चलचित्रलाई १ लाख ५० हजार रुपैयाँ, द्वितीयलाई १ लाख रुपैयाँ र तृतीयलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको लघु चलचित्र प्रतियोगिता समिति संयोजक एवं बोर्ड सदस्य राजु केसीले बताए ।