तरुण संवाददाता
३ चैत्र २०८१, आईतवार ०८:४८
काठमाडौं । गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनको स्वागतमा उत्रेको ठूलो जनसमूह देखेर राजावादीहरू हौसिएका छन् । उनीहरूले अब गणतन्त्रविरुद्ध आन्दोलन गर्ने भन्दै दिनहुँजसो प्रदर्शन गर्न थालेका छन् । शनिबार पनि राजावादीको समूहले नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेको थियो ।
तर, पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दी बनाउन निर्देशन दिएपछि असन्तुष्टि बढेको छ । पूर्वराजा शाहको इच्छाअनुसार ८६ वर्षीय सुवेदीले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन् । तर उनलाई स्वीकार गर्ने विषयमा राजावादीमै मतभेद बढेको छ ।
पूर्वराजा शाहले आफूलाई कमान्डर तोकेपछि सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा। प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग भेटेर छलफल गरिसकेका छन् । ०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको नेताहरूको भनाइ छ ।
राप्रपाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा मोर्चाबन्दीको इच्छा गरेको थियो भने राप्रपा नेपालले संस्कृतिविद् डा. जगमान गुुरुङको नेतृत्वमा सबै राजावादी अटाउने मोर्चाबन्दी गर्न चाहेको थियो । राप्रपा र राप्रपा नेपालका नेताहरूले पूर्वराजाको छनोटमा सार्वजनिक रूपमा आलोचना नगरे पनि सुवेदीको नेतृत्वमा आन्दोलन निष्कर्षमा पुग्न नसकिने उनीहरूको आन्तरिक निष्कर्ष छ । यसबारेमा राप्रपाको आइतबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुनेछ ।
पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी दस मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । उनले ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ साथ दिन आह्वान गरेअनुसार आन्दोलन गर्ने राजावादीहरूको तयारी छ ।


