तरुण खबर
३ चैत्र २०८१, आईतवार ०९:१५
काठमाडौं । चक्रपथको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर परियोजनामा झन्डै ४० मिटर लामो र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न माटो भरेर निर्माण गरिएको विशेष संरचना) मा प्राविधिक समस्या देखिएपछि उक्त भाग भत्काएर पुनर्निर्माण थालिएको छ ।
ओभरपासको पुलसँग जोडिएको सातदोबाटोतर्फको झन्डै ४० मिटर लामो र्याम्प पुनर्निर्माण (रेक्टिफिकेसन) गरिँदै छ । तर केही त्रुटि देखिएकाले त्यसलाई भत्काएर पुननिर्माण गर्ने काम भइरहेको बारे धेरै नै नकारात्मक टिप्पणी पाइएको छ ।
निर्माण पूरा भएको र्याम्पको भागमा समस्या देखिएपछि सडक विभागले त्यसलाई भत्काएर पुनर्निर्माण गर्न निर्देशन दिएको थियो । त्यहाँ झन्डै २६ मिटर गहिराइसम्म कालोमाटो छ, जसको भारवहन क्षमता कमजोर हुन्छ । यसकारण र्याम्प निर्माण भएपछि जमिन थप दबिएर कंक्रिट प्यानल र ब्लकमा असर परेको थियो । ब्लक–ब्लकबिचमा हावा नै छिर्ने गरी धेरै नै ग्याप बनेको थियो । त्यसपछि सडक विभागले त्यसलाई सुधार गर्न निर्माण कम्पनीलाई पत्राचार गरेको थियो । त्यसपछि कम्पनीले डेढ महिना काम रोकेर आवश्यक अध्ययन गरी २३ माघबाट पुनर्निर्माण सुरु गरेको थियो ।
गत पुस–माघमा कम्पनीले काम रोकेको थियो । निर्धारित समयमै काम सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनी आरसी, समानान्तर र रिलिग्रे जेभीले उक्त भाग भत्काएर पुनर्निर्माण सुरु गरेको हो । फ्लाइओभरको कुल लम्बाइ ४९० मिटरको छ । त्यसमा पुललाई सडकसँग जोड्न बालकुमारीतर्फबाट २८० मिटर र सातोबाटोतर्फबाट १७५ मिटर लम्बाइको र्याम्प बनाइँदै छ । बिचको सुपर स्ट्रक्चर (पुल) को निर्माण सकिएको छ ।
सडक विभागका सिनियर डिभिजनल इन्जिनियर पुजन गिरीका अनुसार विभागको निर्देशनअनुसार निर्माण कम्पनीले र्याम्प भत्काएर पुनर्निर्माण गरिरहेको छ । उनका अनुसार उक्त क्षेत्रका अन्य खण्डमा पनि कालोमाटो पाइए पनि ती भागमा भने हालसम्म कुनै समस्या देखिएको छैन । आगामी दिनमा समस्या नआउने गरी र्याम्पको पुनर्निर्माण भइरहेको र अहिले त्यहाँको जमिनको कालोमाटोलाई अधिकतम रूपमा दबाइएको उनको भनाइ छ । अर्थात्, अब त्यसमाथि र्याम्प बनाउँदा जमिन थप दब्नेछैन । यसैगरी र्याम्पको पर्खाल (प्यानल) जगमा पनि ढुंगाको पाइलिङ गरिएको उनको भनाइ छ ।
परियोजनाको समग्र भौतिक प्रगति ८२ प्रतिशतहाराहारीमा पुगेको थियो । तर, र्याम्प भत्काउनुपर्ने हुँदा परियोजनाको प्रगति पनि प्रभावित भएको छ । निर्माण कम्पनीले अब परियोजनामा र्याम्पको पुनर्निर्माण सक्काएर ‘फिनिसिङ’ गर्नुपर्नेछ । एप्रोच ट्र्याक, अकासेपानी व्यवस्थापन गर्नेलगायत संरचना पनि बनाउनुपर्नेछ । तर पूरै ओभरपास भत्काउनुपर्ने जस्तो गरी समाचार प्रवाह भएपछि जनता पनि अन्योलमा परेका छन् ।


