यही क्रमले बढेमा सुनको मूल्य पुग्न सक्छ तोलाकै दुई लाख

यही क्रमले बढेमा सुनको मूल्य पुग्न सक्छ तोलाकै दुई लाख तरुण खबर ६ चैत्र २०८१, बुधबार ११:४८
यही क्रमले बढेमा सुनको मूल्य पुग्न सक्छ तोलाकै दुई लाख

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यले दिनदिनै कीर्तिमान बनाउँदै गएको छ । नेपाल मात्र होइन, भारतमा पनि सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । भारतमा प्रतितोला ९१ हजार भारु पुगेको छ ।

कोरोना महामारीलगत्तै रुस र युक्रेनबीचको युद्ध, त्यसपछि इजरायल र हमासबीचको युद्धले विश्वकै अर्थतन्त्रमा मन्दी देखिएको छ । अमेरिका, चीन, जर्मनी, जापान जस्ता शक्तिशाली देशहरू आर्थिक मन्दीसँग जुधिरहेका छन् । यहीबीचमा नेपालमा सुन व्यवसायीहरूले सुनको मूल्य प्रतितोला दुई लाखसम्म पुग्ने भविष्यवाणी गरेका थिए । केही दिनयता सुनको मूल्यमा निरन्तरको वृद्धिले उनीहरूको भविष्यवाणीलाई पुष्टि गर्ने आधार देखिएको छ ।

बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार कायम गरेको उच्च मूल्यको रेकर्डलाई ब्रेक गर्दै सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँ बढेर एक लाख ७६ हजार रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो । मंगलबार सुन प्रतितोला एक लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएर उच्च मूल्यको रेकर्ड बनाएको थियो ।

आज चाँदीको मूल्य भने पाँच रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।