कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा उक्लियो

कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा उक्लियो तरुण संवाददाता ८ चैत्र २०८१, शुक्रबार १०:१०
कोलम्बियालाई हराउँदै ब्राजिल दोस्रो स्थानमा उक्लियो

काठमाडौं । फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा कोलम्बियाविरुद्ध २–१ को जित निकाल्दै ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

इन्जुरी समयमा भिनिसियस जुनियरले उत्कृष्ट गोल गर्दा ब्राजिलले जित निकालेको हो । शुक्रबार बिहान ब्राजिलमै भएको खेलमा घरेलु टिमलाई जित दिलाउन राफिन्हा र भिनिसियसले गोल गरे । कोलम्बियाका लुइज डियाजले एक गोल फर्काएका थिए ।

राफिन्हाले छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, ४१ औँ मिनेटमा डियाजले गोल गरेपछि कोलम्बिया खेलमा फर्कियो । इन्जुरी समयमा भिनिसियसले उत्कृष्ट गोल गरेपछि ब्राजिलले रोमाञ्चक जित पक्का गरेको हो । भिनिसियसले पेनाल्टी बक्सबाहिरबाट गरेको लामो प्रहारले जाली चुमेको थियो ।

१३ खेलबाट २१ अंक जोडेको ब्राजिल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १९ अंक जोडेको कोलम्बिया तालिकाको छैटौँ स्थानमा छ । चोटका कारण ब्राजिलका महत्वपूर्ण खेलाडी नेयमार टोलीमा पर्न सकेका थिएनन् । तर पनि ब्राजिलले विश्वकप छनोटमा आफूलाई बलियो प्रमाणित गर्दै लगेको छ ।