काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा घर भत्काएका दिपक मलिकको परिवार सुरक्षाका कारण विस्थापित भएको छ। घर भत्काएको घटना सार्वजनिक भएपछि शुक्रबार अध्यक्ष शिवजी यादवलाई प्रहरीले पक्राउ गरेपछि उनका छोरा रुकेश यादवको समूहले पीडित दीपक मलिक परिवारलाई धम्की दिएपछि परिवार नै विस्थापित भएको हो ।
रुकेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन दबाब दिएका थिए । असुरक्षा बढ्न थालेपछि दिपककी श्रीमती अनिता मलिक सिरहा–१९ सन्हैठामा आफन्तका बस्न गएका छन्। दिपक आफै भने गाउँकै एकजनाको घरमा बसोवास गरेको स्थानीयले बताएका छन् । उनका छोराछोरीहरु भने घर नजिकै रहेको प्रहरी चौकीमा सुतेका थिए।
प्रहरीले सुरक्षाका कारण दिपकका परिवारलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए। घर भत्काउन नेतृत्व गरिरहेका गाउँपालिका प्रमुख शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवलाई पक्राउ गरेपछि औरहीमा सुरक्षा व्यवस्था बढाएको छ। मलिक परिवारको घर सुरक्षाका लागि करिव दुई दर्जन प्रहरी परिचालन गरिएको जनाएको छ।
औरही गाउँपालिका–५ मा महायज्ञ लगाउने स्थानबाट दिपक मलिकको घर गत फागुन १० गते गाउँपालिका अध्यक्षको नेतृत्वमा डोजर चलाएर भत्काएको थियो। यो विषय अहिले चौतर्फी आलोचित भइरहेको छ ।
विष्णु महायज्ञका लागि मण्डप बनाउने नाममा डोजर लगाएर आफ्नो घर भत्काउन नेतृत्व गरेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्षसमेत रहेका जनमत पार्टीका पालिका अध्यक्ष दिलीपकुमार यादव र महायज्ञका मूल पुजारी बजरंगी बाबाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । दलित अभियन्ता र कानुन व्यवसायीसहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय पुगेका पीडित दीपक मलिकले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जाहेरी दिएका हुन् ।