तरुण खबर
१० चैत्र २०८१, आईतवार ०९:१७
काठमाडौं । गत वर्ष करिब नौ हजार मानिसले सीमा पार गर्ने प्रयासमा ज्यान गुमाएका छन् । संयुक्त राष्ट्र संघको आप्रवासन निकायका अनुसार मृत्युको संख्याले लगातार पाँचौं वर्ष नयाँ डरलाग्दो रेकर्ड कायम गरेको छ।
सन् २०२० यता आप्रवासी मार्गमा मृत्यु हुनेको संख्या दोब्बरसमेत भएको छ। इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसनले २०२४ मा ८,९३८ आप्रवासीको मृत्यु भएको जनाएको छ । धेरै मृत्युहरू रिपोर्ट नगरिएका वा कागजात नभएकाले वास्तविक मृत्युको संख्या धेरै बढी हुनसक्ने उसले जनाएको छ ।
‘मृत्युको बृद्धि आफैमा भयानक छ, तर प्रत्येक वर्ष हजारौंको पहिचान हुन नसकेको तथ्य अझ दुःखद छ,’ आईओएमको हराएको आप्रवासी परियोजनाका संयोजक जुलिया ब्ल्याकले विज्ञप्तिमा भनेकी छिन् ।
आईओएमका अपरेसनका लागि उपमहानिर्देशक, उगोची डेनियलले भने, ‘विश्वका धेरै क्षेत्रहरूमा मृत्युको वृद्धिले हामीलाई अन्तर्राष्ट्रिय समग्र प्रतिक्रिया किन चाहिन्छ भनेर देखाउँछ, जसले थप दुःखद जीवनको क्षतिलाई रोक्न सक्छ।’ पछिल्लो समय संसारभर मानिसहरू रोजगारी वा अध्ययनका लागि एक देशबाट अर्को देश लुकिछिपी वा भागेर जाने क्रम बढेको छ । त्यसरी जाने धेरै फर्केर आउँदैनन् ।


