तरुण खबर
११ चैत्र २०८१, सोमबार ११:५७
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्। गत शुक्रबार केन्द्रीय कार्यालय सानेपामा अधिवेशन भएकोमा सोमबार मात्र मतगणना गरिएको हो।
चम्लागाईं ३५१ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ र कल्पना खड्काले १३ मत प्राप्त गरेकी छन्। चम्लागाई महामन्त्री गगन थापा, विकास थापा नेता शेखर कोइरालानिकट र कल्पना खड्का प्रवक्ता प्रकाशशरण महतनिकट हुन्। महाधिवेशनमा ४७० मत खसेको थियो।
उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उनको समूहबाट उपाध्यक्ष उम्मेदवार बनेका उदयबहादुर लिम्बु ३३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उपाध्यक्षमै अनिता घिमिरे गैह्रे ३३९ मत प्राप्त गरी निर्वाचित भइन्।
महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत पाएर निर्वाचित भएका हुन्।


