तरुण खबर
१२ चैत्र २०८१, मंगलवार ११:५९
सञ्जीव कार्की
दुर्गा प्रसाई माओवादी कार्यकर्ता र मेडिकल व्यवसायीको रूपमा चर्चामा आए । उनी माओवादी थिए । माओवादी बाहेक अरूलाई बेस्सरी मुख छाड्थे र माओवादी अध्यक्ष प्रचण्डलाई देवत्वकरण गरेर चाकरी गर्थे ।
दुर्गा प्रसाईको मुख ठिक छैन एउटा राजनीतिक कार्यकर्तालाई यस्तो सुहाउन्न भनेर उनको बोली वचन र व्यवहारप्रति असहमति राख्नेलाई अन्य माओवादी नेताकार्यकर्ता झम्टन्थे । दुर्गाले जे जस्तो विवादित कुरा गरे पनि जसलाई मुख छोडेपनि माओवादी नेताकार्यकर्ता उनलाई काँध हाल्थे र उनलाई अरूका विरुद्ध बोल्न मुख छाडन उक्साउँथे । जब २०७५ जेठ ३ गते माओवादी केन्द्र र नेकपा एमालेको पार्टी एकता भयो तब दुर्गा प्रसाई प्रचण्ड र ओलीलाई मार्सी भात खुवाएको फोटो सहित झन चर्चामा आए । नेकपा मैले मिलाई दिएको र मेरै डिजाइनमा पार्टी एकता भएको भन्न प्रसाईले भ्याए ।
तत्कालीन नेकपाका कार्यकर्ताहरू दुर्गाको जयगान गाउन थाले र ओली प्रचण्डपछि दुर्गालाई नेता मानेर प्रचारप्रसार गर्न थाले । दुर्गाले ओली र प्रचण्डको देवत्वकरण गर्दै भक्तिगान गरेको नेकपा कार्यकर्तालाई असाध्यै मन पर्थ्यो । ओली र प्रचण्डको दाहिने हात भएर दुर्गा नेकपा बाहेक सबैलाई मुख छाड्थे; नेकपाका कार्यकर्ता (एमाले र माओवादीहरू) बडो मजा मान्थे र ताली ठोक्थे । आफ्ना नेता देवता अरू सब राक्षस उनको भाष्य थियो । त्यसलाई नेकपाले साथ दियो । ओली नेकपाको दुई तिहाई सरकारको प्रधानमन्त्री थिए । त्यस्तो बेला दुर्गाको फुर्ति सामान्य हुने कुरै भएन ।
अहिले त यस्तो छ त्यतिबेला कस्तो होला देखिजान्ने सुनीजान्ने यहीं छन् । हामीले त्यतिबेला पनि नेकपा नेता कार्यकर्तालाई खबरदारी गर्यौ । तर नेकपा शक्ति र सत्ताले अन्धो थियो दुर्गालाई बोकेर पुलपुल्याएर बसे । बिरोधीमाथि दुर्गामा सवार भएर प्रहार केन्द्रित गरिरहे । योगेश भट्टराई जस्ता युवा नेता दुर्गाका प्रवक्ता र रक्षाकवच बनेर सार्वजनिक रूपमा अरूलाई आक्रमण गर्न आए । हामीले बिरोध गर्यौ यो सुहाएन भन्यौं तर सुन्ने कसले ?
नेकपा २०७७ फाल्गुनमा फेरि टुक्रियो । दुर्गा एमालेमा बसे । उनी एमालेमा मात्र बसेनन् उनी नेकपा एमालेका अध्यक्ष ओलीका नातिको रूपमा आफूलाई चिनाउन थाले र नेकपा एमालेमा अन्य नेता भन्दा ओलीको प्रियपात्र र विश्वास पात्र भएर निस्किए । उनी नेकपा एमालेमै रहेपछि नेकपा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालको उछितो काढन प्रयोग गरिए । नेकपा एमालेले दुर्गा प्रसाईले छोडेको मुखमा स्वाद मान्न थाल्यो ।
मदनको जनवाद दुर्गाको बोलीमा देख्न थाल्यो । मार्क्स, लेनिन, माओ सबै दुर्गाका बोली र हाउभाउमा पाउन थाल्यो । दुर्गा बारेका असहमति एमालेका नेताकार्यकर्ता सुन्न परे त्यसको विरुद्ध अरिंगाल भएर जाइलाग्न थाले । दुर्गा प्रसाई २०७८ मा एमालेको केन्द्रीय सदस्य मै मनोनित भए । एमाले पार्टी कै जिम्मेवारीमा दुर्गा अति भयो भनेर सार्वजनिक विरोध भयो । एमाले भित्रका निष्ठावानले पनि यसलाई राम्रो मानेनन् तर एमालेले दुर्गालाई आफ्नो पार्टीको केन्द्रीय सदस्य पाउँदा गर्व गर्यो ।
दुर्गाको विगत उनको स्वभाव र उनको शैलीको विश्लेषण गर्दै एमालेलाई दुर्गालाई अनावश्यक नबोक्न प्रश्रय नदिन खबरदारी गरियो तर कसले सुन्ने उनी एमालेका नेताको रूपमा आए र एमाले नेताकार्यकर्ताले उनलाई बोकिरहे । समयको गतिले फेरि दुर्गालाई एमालेबाट बाहिर पुर्यायो । उनी एमालेबाट बाहिरिए पछि सबैभन्दा बढी दुश्मनी ओलीसँग गर्न थाले र ओलीलाई मुख छाड्न कतै र केही कसर बाँकी राखेनन् ।
ओली सरकारले दुई पटक उनलाई थुन्यो पनि । अहिले उनी राजा ल्याउने र व्यवस्था फेर्ने आन्दोलनको नेतृत्व गर्दैछन् र राजाबाहेक सब बेठिक राजा आएपछि सब ठिक हुन्छ भनेर राजाको पक्षमा उभिएका छन् । राजावादी नै भए पनि अन्य राप्रपा आदिलाई उनले भाउ दिएका छैनन् र ऐना मौकामा अन्य राजावादीहरूलाई उनले ठेगान लाउने र आफूलाई मात्र सर्वेसर्वा घोषणा गर्ने निश्चित छ ।
राजालाई पनि यतिबेला उनी नै आफ्ना असल सारथी र अनुयायीको भ्रम परेकों छ । दुर्गा प्रसाईले राजालाई पनि मुख छोडेर हिड्ने दिन देख्नलाई धेरै लामो समय कुर्नु पर्दैन । उनका पछि लाग्नेलाई पनि नले बाँकी राख्ने छैनन् । उनले सार्वजनिक रूपमा नै ओली र प्रचण्डलाई पचास करोड खर्च गरेको वक्तव्यबाजी गरेका छन् । राजाको सन्दर्भमा करोड र अरबको हिसाब दिंदै राजालाई अरूले पहिले नै लाएको पूर्ववत आरोप र विदेशी बैंकमा पैसा राखेको उनको आरोप सहित सराप्दै गरेको सुन्न र देख्न धेरै पर्खनु नपर्ला ।
स्मरणीय : दुर्गा प्रसाईले आज बोकेका केही नारा र विषय ज्यादै संवेदनशील र भुइँ मान्छेको हितको लागि भएको तथ्य नकार्न सकिन्न । उनले बोकेका आम जनजीवनका समस्या पीर र व्यथा नयाँ दलहरू रास्वपा, जनमत र अन्य वैकल्पिक शक्तिको दाबी गर्नु पर्नेले बोक्नुपर्ने थियो तर उनीहरू पनि जनताको त्यस्तो मुद्दा बोकेर आउन सकेनन् र आज दुर्गा प्रसाई जनताको कतिपय संवेदनशील मुद्दा बोकेर राष्ट्रिय राजनीतिमा चर्चामा छन् । ओली प्रचण्डले झैँ गलत मान्छेको भर परें भनेर ज्ञानेन्द्र शाहले महशुस गर्ने दिन पक्कै आउने छ । दुर्गाले बोकेको मुद्दा बोक्ने नैतिक धरातल भएको वैकल्पिक शक्ति र तागत आजको आवश्यकता हो । दुर्गा ओली प्रचण्ड र ज्ञानेन्द्रले बनाइ दिएका नेता हुन् ।


