तरुण खबर
१४ चैत्र २०८१, बिहीबार ११:०४
काठमाडौं । लागुऔषध सेवनका लागि मागेको पैसा नदिएपछि हेटौंडामा एक व्यक्तिले भाउजूको हत्या गरेका छन् । हेटौंडा–१, चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार आफ्नी जेठी भाउजू ३५ वर्षीया गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले राहुलसँग लिएको प्रारम्भिक बयान र उनको मेडिकल चेकजाँचबाट उनले लागुऔषध सेवन गरेको पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले राहुलले आफूलाई परिवारले घृणाको दृष्टिले हेर्ने गरेको भन्दै भाउजुको हत्या स्वीकार गरेको बयानमा बताएको जानकारी दिए ।
राहुलको आक्रमणबाट माइला दाजु रुपेश दास घाइते भएका छन् । गम्भीर अवस्थाका रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ । उनको टाउको, ढाड र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार राहुलले माइलो दाइमाथि खुकुरी आक्रमण गरेको भन्ने खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले उनलाई पक्राउ गरेको बताए । तर घरका सदस्यहरुले जेठी बुहारी गुडियालाई नदेखेपछि खोजतलास गर्ने क्रममा राति पौने ९ बजेतिर घरको माथिल्लो तल्लामा बन्द कोठाभित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक सापकोटाले राहुलले माइलो दाइ रुपेशलाई भन्दा पहिला भाउजूलाई खुकरी प्रहार गरेर कोठामा बन्द गरेको हुनसक्ने बताए । गुडियाको टाउकोमा खुकुरी प्रहारबाट चोट लागेको उनले जानकारी दिए । मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन् । गुडियाका तीन् सन्तान छन् ।


