विन्दुकान्त घिमिरे
घटना २०४७ सालको संविधान निर्माण गर्दाको बेलाको हो । दरवार भनौ या सेना , उसले ड्राफ्ट गरेर पठाएको संविधान मस्यौदा कृष्णप्रसाद भट्टराईले गोरखापत्रमा प्रकासित गर्न लगाएपछि सार्वजनिक भयो । त्यो ड्राफट पढेपछि जनता खवरदारी आन्दोलनमा उत्रे । दरवारको प्रयत्न विफल भयो ।
त्यतिबेला दरवारको अनुदारवादी हिस्सा अराजकताको अभियानमा थियो । बडागुरुजु खलकका ज्र्वाँइ मार्शल जुलम शाक्य त्यतिबेला आपुर्ति मन्त्री थिए । दरवारले उनलाई प्रयोग गर्दै धर्मनिरपेक्षताको पक्षमा भाषण गर्न लगायो । तर तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उनलाई मन्चबाटै उठाएर गणेशमान सिंहकहाँ पठाइदिनुभयो ।
दरवारको सिआइडीका रुपमा उनले काम गर्ने गरेको कुरा गणेशमानलाई थाह थियो । तर धर्मनिरपेक्षताको एजेण्डा उनलाई दरवारले नै बोकाएको हो भन्ने गणेशमानलाई थाह रहेनछ । गणेशमानले नविन चित्रकार लगायत १५ –२० जना नेवार बुद्धीजीवि रहेको उक्त जमघटमा फ्याट्ट कुरा खोलि हाल्नु भयो –‘ राजतन्त्र रहँदासम्म धर्मनिरपेक्षता संभव छैन । परिस्थिति झन विथोलिन्छ । कम्तिमा पनि अझै २० वर्ष राजतन्त्र रहन्छ , त्यस पछि सोचौंला ।’ गणेशमानको यो कुरा मार्शलजुलुमले तत्काल दरवार पुरयाइहाले । त्यस पछि गणेशमान सिंहको दुख पाउने दशा सुरु भयो ।