के ०८४ को चुनावअघि नै केपी ओली र माधव नेपाल एक होलान् ?

के ०८४ को चुनावअघि नै केपी ओली र माधव नेपाल एक होलान् ? तरुण खबर १९ चैत्र २०८१, मंगलवार ०९:०६
के ०८४ को चुनावअघि नै केपी ओली र माधव नेपाल एक होलान् ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पानी बाराबारको स्थिति छ । साढे तीन वर्षअघि एमालेमा विद्रोह गर्दै नेपालले एकीकृत समाजवादी गठन गरेपछि दुवैबीचको सम्बन्ध तिक्ततामा परिणत भएको हो । तर केही समययता ओली र नेपालबीच पुनर्मिलनको खेल भित्रभित्रै सुरु भएको रहस्य खुलेको छ । २०८४ को निर्वाचनअघि नै दुवै पार्टीबीच एकताको प्रयास सुरु भएको छ ।

सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पहिलोपटक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेपछि बाहिर चलेको हल्लामा सत्यता लुकेको विश्लेषण हुन थालेको छ । नेपालले एमालेबाट विभाजन भएर ०७८ भदौमा एकीकृत समाजवादी गठन गरेका थिए । पार्टी विभाजनपछि नौ महिनासम्म एमालेले संसद् बैठक नै चल्न दिएको थिएन । तर, यी सबै तिक्ततालाई बिर्सेर ओली सोमबार एकीकृत समाजवादी कार्यालय पुगेर नेताहरूसँग कुराकानी गरे । आलोकनगरमा ओलीले पुराना सहकर्मीसँग भलाकुसारी गरे ।

सन्चोबिसन्चो सोध्नुका साथै हार्दिकता साटासाट गरे । प्रधानमन्त्री ओली, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, एमाले पूर्वउपाध्यक्ष भीम रावललगायत नेताहरू एउटै कोठामा सौहार्दपूर्वक बसेर कुराकानी गरेका थिए । ओली यतिसम्म नरम हुने नेता होइनन् । उनको विगत र वर्तमानले त्यसलाई पुष्टि गरेको छ । तर यसपटक भने ओली आफैं माधव नेपालको पार्टी कार्यालय पुग्नुलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । विद्यादेवी भण्डारीको एमाले नेतृत्व लिने चाहनाबीच अ‍ोली र नेपाल मिलाउने खेल भएको हो ।

एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले ‘आइसब्रेक’कै संज्ञा दिएका छन् । ‘भेट्दा बोलचालै नहुने नेताहरू एउटै कोठामा बसेर संवाद गर्ने स्थिति बन्यो । यसले संवाद र सहकार्यको वातावरण बनाएको छ । यसले राम्रो सन्देश दिएको छ,’ उनले भने । ओली र रावलको बिचमा नेपाल बसेका थिए । ओलीको छेउमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रावलको छेउमा एकीकृत समाजवादीका वरिष्ठ नेता प्रमेश हमाल थिए । उनीहरू एउटै लहरमा थिए ।

ओलीलाई एकीकृत समाजवादीको अस्तित्व स्विकार्नै कठिन भएको थियो । गत राष्ट्रपतिको निर्वाचनमा एमालेले एकीकृत समाजवादीलाई दलको रूपमा स्विकारेर सहयोग गर्न पत्र काटेको थियो । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहितका नेता पत्र लिएर एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका थिए ।