तरुण खबर
२० चैत्र २०८१, बुधबार १२:१८
बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटवार्ता भएको छ ।
बुधबारको भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा। युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।
त्यसअघि थाइल्याण्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेका थिए । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदानप्रदान भएको छ ।
प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले आजै थाइ नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अझै भेटवार्ता तय भएको छैन । नेपाली अधिकारीहरुका अनुसार शुक्रबार दिउँसो ४ बजे ओली र मोदीबीच साइडलाइन भेटवार्ताको उच्च सम्भावना छ ।


