नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने एडिबीको अनुमान

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने एडिबीको अनुमान तरुण खबर २७ चैत्र २०८१, बुधबार १३:०७
नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत पुग्ने एडिबीको अनुमान

काठमाडौं । एसियाली विकास बैंकले आर्थिक वर्ष सन् २०२५ मा नेपालले ४.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ। बुधबार सार्वजनिक गरेको एसियाली विकास परिदृश्य एसियन डेभलपमेन्ट आउटलुक (एडीओ) अप्रिल २०२५ प्रतिवेदनअनुसार यो वृद्धिदर आर्थिक वर्ष २०२६ मा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

प्रतिवेदनले सबै प्रमुख उत्पादन क्षेत्रमा विस्तार हुने अपेक्षा छ। कृषि मन्त्रालयले यो आर्थिक वर्षमा धान उत्पादनमा ४ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ। सामान्य अवस्थाभन्दा राम्रो मनसुन रहने, समयमै मलखादको उपलब्धता र उच्च उत्पादन दिने बीउबिजनको उपलब्धतालाई यसको कारण मानिएको छ ।

उद्योग क्षेत्रमा पनि सुधार हुने देखिन्छ। गत वर्ष संकुचनमा रहेका उत्पादन र निर्माण क्षेत्र यो वर्ष स्थिर पेट्रोलियम र कच्चा पदार्थको मूल्य, तरलतामा वृद्धि र ब्याजदरमा कमीका कारण विस्तार हुने अपेक्षा छ। यी कारणले सबै उत्पादन क्षेत्रमा कर्जा प्रवाह बढेको छ। सरकारले पूँजीगत खर्चलाई तीव्रता दिने लक्ष्य राखेको छ। सरकारले ८५ प्रतिशत खर्च गर्ने सरकारी योजना छ।

जलविद्युत् आयोजनाहरूको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ । कर्जामा पहुँच वृद्धि, प्रत्यक्ष वैदेशिक लगानीमा उच्च प्रतिबद्धता र अन्तर्राष्ट्रिय पर्यटक आगमनमा पुनरुत्थानका कारण सेवा क्षेत्रको वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण छ। आन्तरिक माग बढ्दा थोक र खुद्रा क्षेत्र बलियो हुने अपेक्षा छ। सडक सञ्जालको सुधार र पर्यटकको बढ्दो आगमनले यातायात र लजिस्टिक क्षेत्रमा पनि लाभ पुग्ने एडिबीको अनुमान छ। प्रतिवेदनअनुसार सूचना र सञ्चार सेवा क्षेत्र पनि सुदृढ हुँदैछ।