टीआर पौडेल
शक्ति प्रयोगका दुईवटा आयाम मान्ने हो भने टेक्ने आधार नभई अस्वाभाविक जिम्मेवारीमा पुग्नु र शक्ति आर्जन गरी स्वाभाविक रुपमा छानो उक्लनुमा भिन्नता हुन्छ । रवि लामिछाने पहिलो आधारमा शक्तिमा उक्लेका ब्यक्ति हुन् । अस्वाभाविक निर्माण भएको अवसरबाट गरिएको सत्ता प्रयोगको प्रभावले ब्यक्ति र राजनीति दुबैलाई दूरगामी प्रभाव पार्छ ।
राजनीतिमा दल जति ठूलो हुन्छ समस्या पनि त्यही आकारमा बढ्दै जान्छ । यो नियम मान्छेमा पनि लागू हुन्छ । मान्छे जति अग्लो स्थानबाट झर्छ त्यति बढी घाइते हुन्छ । यसलाई स्वीकार्दै सम्भावित समस्या समाधानका लागि कसैले पनि रणनीतिक उपाय तयारी गर्नुपर्छ । मैदानमा उत्रँदा थुप्रै वैकल्पिक रणनीति तयार नहुँदा असफलता हातलागीको दर उच्च हुन्छ । सर्सरती हेर्दा रवि लामिछाने र उनको दलसँग तत्कालीन मात्र होइन, दीर्घकालीन प्रतिरोधी कुनै रणनीति तयार रहेनछ । केवल सामाजिक सञ्जालमा होहल्ला गर्नेबाहेक ।
राजनीति तथा कुनै पनि सार्वजनिक कार्यमा सामाजिक स्वीकार्यता, आर्थिक मान्यता सम्बन्ध, सांस्कृतिक सोच, अनुभव, भावनाजन्य सहजतालगायतका विषय जहिले पनि प्रधान हुन्छ । हिजो रवि लामिछानेले गृहमन्त्रीका रुपमा गरेको सत्ता अभ्यास परम्परागत सामाजिक एवं राजनीतिक एलिटहरुको दृष्टिमा कुनै पनि कोणबाट स्वीकार्य थिएन र अपवादबाहेक दुनियाँका कुनै पनि समाजमा यस्तो स्वीकार्यता सजिलै सम्भव हुँदैन ।
तर रवि लामिछानेले समाजको सोच चिन्तनगत यो पाटोलाई नजरअन्दाज गरेर सत्ता प्रयोगको तिर्खा मेट्ने हतारो गरे । अर्थात् यसो भनुँ टेक्ने दरिलो आड नबनाई शक्ति प्रयोगको दुस्साहस गरे । परिणाम आज देखिँदैछ । सहकारी ठगीमा रविको बदमासीको चर्चा र उनीमाथिको आक्रमण यो हदको उचाइमा पक्कै पनि पुग्ने थिएन, यदि उनी राजनीतको त्यो उचाइमा हुँदैनथे भने । उनले विगतमा सत्ता उपभोगको प्रक्रियालाई समयसापेक्ष स्वाभाविक सञ्चालन गर्न सकेको भए सहजै नभए पनि यो भन्दा कम घाइते बनेर अवतरणमा जानसक्ने विकल्पहरु खुल्ला हुने थिए । तर दुर्भाग्यवश आज रवि लामिछाने हिलोको त्यो दलदलमा फसिसकेका छन्, जहाँ उभिएर उनी जति चलमलाउँछन् उति नै फस्दै जानेछन् ।
आज रविका सामु सम्पूर्ण विकल्पहरु एकपछि अर्को साँघुरो हुँदै गएका छन् । उनी कानुनको घेरामा परिसकेका छन् र उनको राजनीतिक उत्थान कुनै चमत्कार भएको अवस्थामा बाहेक असम्भव छ। परिणामतः नेपाली जनताको वैकल्पिक राजनीतिको तिर्खा मेट्न उदाएको एउटा महत्वपूर्ण शक्तिको निर्ममतापूर्वक अवसान हुँदैछ । आर्जित शक्तिको क्रुर अवसानको यो दुःखद् दृष्य टुलुटुलु हेर्नुबाहेक आज रवि लामिछानेसामु अर्को कुनै बाटो छैन ।
– फेसबुकबाट