तरुण सम्वाददाता
३१ चैत्र २०८१, आईतवार १०:२९
काठमाडौं । १२ दिनदेखि काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका शिक्षक र सरकारबीच आइतबार वार्ता हुने भएको छ । शिक्षक र सरकारका प्रतिनिधिहरुबीच लगातार संवाद भइरहेको छ । शिक्षा मन्त्रालयका उच्च तहका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो ।
शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार शिक्षकका मागबारे शिक्षा मन्त्रालयका अधिकारीहरुले मन्त्रिपरिषदबाट गर्न सक्ने निर्णयबारे ब्रिफिङ गर्दै आइतबार अर्थ मन्त्रालयसँग बसेर छलफल गर्ने र पुनः शिक्षक महासंघसँग छलफल गर्ने बताएका थिए । शिक्षकहरुले राखेका मागबारे मन्त्रिपरिषद्बाट निर्णय भएमा र शिक्षा ऐन जारी गर्ने सुनिश्चितता भएमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने उनले बताइन् ।
संसदको अबको अधिवेशन सुरु भएको पहिलो साता नै विधेयक पेस गर्ने सत्तारुढ दलहरूले बताउँदै आएका छन् । तर महासंघले शिक्षक–कर्मचारी मैत्री शिक्षा ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म आन्दोलन जारी रहने बताएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन जारी गर्न शिक्षक महासंघले भनिरहेको छ । देशभरका शिक्षकहरुले २० चैतदेखि काठमाडौंमा भेला आएर आन्दोलन गरिरहेका छन् ।


