तरुण संवाददाता
५ बैशाख २०८२, शुक्रबार ११:५३
काठमाडौं । नेपालले चालू आर्थिक वर्षको चैत मसान्तसम्म लिएको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ छ भने बाह्य ऋण १३ खर्ब एक अर्ब ७४ करोड रुपैयाँ छ । चैत मसान्तसम्ममा सरकारले आन्तरिक र बाह्य स्रोतबाट गरी जम्मा ३ खर्ब ६६ अर्ब ९ करोड रुपैयाँ ऋण उठाएको छ ।
आन्तरिक स्रोतबाट २ खर्ब ९१ अर्ब १४ करोड र बाह्य स्रोतबाट ७४ अर्ब ९५ करोड रुपैयाँ ऋण लिइएको हो । समग्रमा, चालु आर्थिक वर्षको कुल ऋण उठाउने वार्षिक लक्ष्य ५ खर्ब ४७ अर्ब रुपैयाँमध्ये ६६.९३ प्रतिशतमात्रै पूरा भएको देखिन्छ । ऋण उठाउने लक्ष्यअनुसार आन्तरिक ऋणको लक्ष्य ३ खर्ब रुपैयाँ थियो । यसमध्ये ८८.२२ प्रतिशत अर्थात २ खर्ब ९१ अर्ब १४ करोड उठाइएको छ । तर, २ खर्ब १७ अर्ब रुपैयाँको लक्ष्यसहितको बाह्य ऋणमा भने ३४.५४ प्रतिशत मात्रै उठ्न सकेको छ ।
त्यस्तै, ऋणको सेवा खर्च पनि ठूलो रकममा पुगेको छ । आर्थिक वर्ष २०८१र८२ को लागि ऋण सेवा खर्चको वार्षिक बजेट ४ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ तोकिएको छ । चैत मसान्तसम्म २ खर्ब ५२ अर्ब ४८ करोड खर्च भइसकेको छ, जुन वार्षिक लक्ष्यको ६२।६७ प्रतिशत हो । आन्तरिक ऋण भुक्तानीमा मात्रै २ खर्ब १२ अर्ब ९३ करोड रुपैयाँ खर्च भएको छ भने बाह्य ऋण भुक्तानीतर्फ ३९ अर्ब ५५ करोड खर्च भइसकेको छ ।


