तरुण संवाददाता
९ बैशाख २०८२, मंगलवार १२:५०
काठमाडौं । देशभरका सरकारी शिक्षक आन्दोलनमा रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ।
सानोठिमीमा मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीलाई अन्योलमा नपर्न अनुरोध गर्दै पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोन र महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने निर्णय गरेपछि विद्यार्थी तथा अभिभावकमा परीक्षा निर्धारित समयमा सञ्चालन हुने नहुनेबारे अन्योल थियो।
बोर्डले परीक्षा निर्धारित समयमै गर्ने र शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए। परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने र विद्यार्थीको समय खेर जाने भएपछि परीक्षा नरोक्ने, तर प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधकिारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लाका निजामती कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ।
बोर्डको आजको बैठकले आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहयोग गर्न आह्वान गर्ने निर्णयसमेत गरेको छ। यस वर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुने छन्। विद्यार्थी संख्याको आधारमा करिब दुई हजार कर्मचारी, प्रत्येक परीक्षा केन्द्रमा कम्तीमा एक कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी बोर्डले गरेको छ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले कक्षा १२ को परीक्षामा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेका छन् ।


