तरुण संवाददाता
११ बैशाख २०८२, बिहीबार १८:२६
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमालेको राष्ट्रवादी अडान र जनपक्षीय दृष्टिकोणबाट भयभित भइरहेकाहरुले दिनैपिच्छे अहिलेको सरकार ढल्ने हल्ला गर्दै भ्रम फिजाईंरहेको दाबी गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा एमालेले बिहीबार आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट अडान लिएको हुनाले विदेशी दलाल तत्वहरु अहिले एमालेविरुद्ध खनिएका छन् । हाम्रा राष्टवादी दृष्टिकोण र अडानका कारण, हाम्रो जनपक्षीयताका कारण, लोकतान्त्रिक अभ्यास, आचरण र देशलाई स्पष्ट अगाडि बढाउने नीतिका कारण विभिन्न प्रकारका शक्ति भयभित भएर दिनैपिच्छे अनेक भ्रम फिजाउन खोजेका छन्, । हरेक दिन सरकार जान्छ, सरकार जान्छ भनेर भन्न थालेका छन्’ प्रधानमन्त्रीले भने ।
ओलीले कांग्रेस–एमालेको संयुक्त सरकार स्थिरता र स्थायित्वका लागि बनेका कारण सरकारको चिन्ता गर्न छाडेर निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि मिसन ८४ को चुनावी तयारीमा लाग्न आग्रह पनि गरे ।
‘लोकतन्त्रमा पाँच वर्षको लागि सरकार बन्छ । यहाँ १ सय ४ वर्षको लागि २ सय ४० वर्षको लागि सरकार बनेको होइन । अब हामीले चुनावको तयारी गर्नुपर्छ । सरकार बचाऊ, बचाऊ भनेर एमालेले भनेको छैन । ढुक्कले मिसन ८४ मा लाग्नुहोस् । सरकार चलाउने, बनाउने, टिकाउने सकेसम्मका प्रयास एमालेले गर्छ । तर मिसन ०८४ को लागि ध्यान दिनुहोस्,’ उनले भने ।


