अभिनेत्री श्वेता खड्काकै कारण माझी बस्ती कालोसूचीमा

अभिनेत्री श्वेता खड्काकै कारण माझी बस्ती कालोसूचीमा तरुण संवाददाता १४ बैशाख २०८२, आईतवार १२:२३
अभिनेत्री श्वेता खड्काकै कारण माझी बस्ती कालोसूचीमा

काठमाडौं । अभिनेत्री श्वेता खड्कामाथि प्रतिनिधिसभामा प्रश्न उठेको छ । माओवादी सांसद उर्मिला माझीले उनको विषयमा आइतबार सदनमा प्रश्न उठाएकी हुन् । श्वेताकैकारण सिन्धुपाल्चोकका ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताएकी छन् ।

प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी श्वेताले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको बताइन् । चौतारा साँगाचोकगढी नगरपालिका–११ को माझी बस्ती बनाउन भनी श्वेता खड्का फाउन्डेसनमार्फत घर निर्माण गरिएको, तर उनले बीचमै छाडेर हिँडेपछि ५५ घरधुरी बैंकको कालोसूचीमा परेको बताइन् ।

‘श्वेता खड्का कलाकारको हिसाबले सम्मानित व्यक्ति हो, हामी पनि उहाँको सम्मान गर्छौ । तर उहाँले कर्तव्य निर्वाह नगरेका कारण आज सिंगो माझी बस्ती कालोसूचीमा परेर लिलाम हुने अवस्थामा पुगेको छ । उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो, जनसेवा देखाउन खोज्नुभयो । तर त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्था छ,’ माझीले भनिन् ।

श्वेताले २०७२ को भूकम्पपछि माझी बस्ती निर्माण गर्न श्वेता खड्का फाउन्डेसनमार्फत अभियान चलाए पनि बीचमै अलपत्र परेको थियो ।