मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ : चित्रकार

मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ : चित्रकार तरुण सम्वाददाता २० बैशाख २०८२, शनिबार १८:४४
मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ : चित्रकार

ललितपुर । पूर्वमन्त्री रामकृष्ण चित्रकारले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापनमा आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले शुक्रबार आयोजना गरेको मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन, योग ध्यान तथा शिरोधारा कार्यक्रममा उनले योग, ध्यान र आयुर्वेद उपचार पद्धति पूर्वीय दर्शन र संस्कृतिको अभिन्न पाटो भएको बताउँदै यसको महत्त्व, ओैचित्य र सान्दर्भिकतालाई उजागर गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘योग भन्नेबित्तिकै रामदेवको सम्झना आउँछ, नेपालमा पछिल्लो समय योग र ध्यानले प्राथमिकता पाउँदै आएको छ, अहिले पश्चिमा देशलगायत संसारमा समेत योगको लहर आएको छ, मानसिक स्वास्थ्य प्रवर्द्धनमा योग अभ्यास अत्यन्तै महत्त्वपूर्ण कार्यक्रम हो, मानसिक स्वास्थ्य बलियो बनाउन सक्यौं भने अत्यन्तै लाभ हासिल हुन्छ, राम्रोसँग सबैमा प्रचारप्रसार गर्नु जरुरी छ,मानसिक स्वास्थ्यमा हाम्रो त्यति ध्यान पुगेको छैन, आयुर्वेदको महत्वलाई स्थापित गर्नुपर्छ,’ उनले भने ।

कांग्रेस नेता चित्रकारले हामी नेपालीहरुले अत्यन्तै तनावपूर्ण जीवन विताउने गरेका छौँ भन्दै यसलाई व्यवस्थापन गर्नुपर्ने ठूलो चुनौती रहेको धारणा राखे ।
उनले आयुर्वेद उपचार पद्धति नै हाम्रो प्रमुख उपचार पद्धति हुनुपर्छ भन्दै बागमती प्रदेश सरकार आयुर्वेदिक उपचार पद्धतिलाई प्रवर्द्धन गर्दै योग र ध्यानको प्रचारप्रसारमा सहयोग गर्न तत्पर रहेको जानकारी गराए।

योग विज्ञ बुद्धिबल रानाले योग अभ्यास, योग गर्ने विधि, योग गर्दा मन, मस्तिष्क र शरीरलाई व्यवस्थापन गर्ने तरिकाहरुका बारेमा प्रयोगात्मक प्रस्तुतिकरण दिएका थिए । उनले योग अभ्यास गराउँदै जोर्नीका समस्या, युरिक एसिडको प्रभावलाई रोक्न, हात, गोडाका ओैलाको स्वस्थ्यता कायम राख्न योगको महत्त्वका बारेमा जानकारी गराए ।

बागमती प्रदेशका पूर्वमन्त्री चित्रकारसहित, बागमती गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चन, कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजनप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेललगायतले योग अभ्यास गरेका थिए ।