आफ्नै घरको बाथरुममा लडे प्रचण्ड

आफ्नै घरको बाथरुममा लडे प्रचण्ड तरुण सम्वाददाता २४ बैशाख २०८२, बुधबार ११:२१
आफ्नै घरको बाथरुममा लडे प्रचण्ड

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै निवासको बाथरुममा लडेर घाइते भएका छन् । उनकी छोरी गंगा दाहालका अनुसार सोमबार राति बाथरुममा लड्दा प्रचण्डको निधारमा सामान्य चोट लागेको थियो । तत्कालै नख्खुस्थित मेडिसिटी अस्पतालमा सामान्य उपचारपछि उनी मंगलबार बिहानैदेखि नियमित काममा फर्किएका छन् ।

‘गए राति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद,’ गगाले फेसबुकमा लेखेकी छन् ।

तर एमाले नेता महेश बस्नेतको दाबी भने अर्कै छ । उनले प्रचण्डको निधार र टाउकोमा चोट लागेकाले टाँकासमेत लगाएको उल्लेख गरेका छन् । ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएको खबर सार्वजनिक भएको छ। घटना खुमलटारस्थित आफ्नै निजी निवासमा राति भएकोमा उहाँको टाउको र निधारमा चोट लागेको ललितपुरको मेडिसिटी अस्पताल लगिएको र टाँकासमेत लगाउनुपरेको बताइएको छ िउहाँको शीघ्र स्वास्थ्यलाभको कामना,’ बस्नेतले भनेका छन् ।