काठमाडौं । राष्ट्रिय गौरवको नागढुंगा सुरुङमार्ग कहिलेदेखि सञ्चालनमा आउने हो भन्ने अझै टुंगो लागेको छैन । ठेकेदार कम्पनीले सुरुङमार्गको काम पूरा गर्ने अन्तिम म्याद २०८२ असोजसम्म पाएको छ।
२०७६ बाट निर्माण सुरु गरिएको सुरुङमार्ग परियोजनाको म्याद अहिलेसम्म दुईपटक थप भइसकेको छ। सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ। जसमा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ।
सुरुङमार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डरपास, बक्स कल्भर्ट र ओभरपास बनाउने काम पूरा भइसकेको छ। सुरुङ मार्ग प्रवेश गर्ने तीनवटा पुल बनिसकेका छन्। अहिले कालोपत्रेको काम पनि भइरहेको छ । तर असोजमै पूरा हुनेमा अझै आशंका रहेको बताउन थालिएको छ । तर सडक विभागले भने नागढुंगा सुरुङमार्गमा सवारीसाधन गुडेबापत ५० देखि पाँच सय रपैयाँसम्म शुल्क उठाउन प्रस्ताव गरेको छ।
विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालनसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको हो । महाशाखाका कर्मचारीहरूका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे सवारीदेखि १२–१४ चक्केसम्मका ठूला सवारीसाधनले शुल्क बुझाउनुपर्नेछ।
मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडी भने सुरुङमार्गमा प्रवेश गर्न पाउने छैनन्।
मोटरसाइकल प्रवेश गर्नुपर्यो भने गाडीमा राखेर ओहारोदोहारो गर्न सक्ने छन्। साना सवारीलाई प्रवेश गर्न ५० रुपैयाँ, बसलाई दुई सय रुपैयाँ र ठूलाठूला ट्रकलाई पाँच सय रुपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ। सुरुङमार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारीसाधनलाई भने फरक फरक शुल्क लाग्ने गरी गरी प्रस्ताव गरिएको छ।
विभागका अर्का एक कर्मचारीका अनुसार सुरुङमार्गमा सवारीसाधन प्रवेश गरेबापत शुल्क कसले उठाउने भन्नेमा पनि अझै टुंगो लागिसकेको छैन। टेन्डरबाट निजी क्षेत्रलाई दिने गरी प्रस्ताव तयार गर्ने काम भइरहेको बुझिएको छ । सुरुङमार्ग प्रवेश गर्न सवारी साधानबाट शुल्क उठाएपछि सुरुङमार्गभित्र अक्सिजन, अग्नि नियन्त्रक, सुरक्षा, सञ्चार लगायतका सुविधा शुल्क उठाउने कम्पनीले नै उपलब्ध गराउने छ।