बलात्कार आरोपी ‘भाग्यमानी’ पूर्वमेयर, पाँच महिना अस्पताल बसेर घर फर्किए

बलात्कार आरोपी ‘भाग्यमानी’ पूर्वमेयर, पाँच महिना अस्पताल बसेर घर फर्किए तरुण संवाददाता २६ बैशाख २०८२, शुक्रबार १२:३९
बलात्कार आरोपी ‘भाग्यमानी’ पूर्वमेयर, पाँच महिना अस्पताल बसेर घर फर्किए

काठमाडौँ । बालिका बलात्कार आरोप लागेका झापाको बिर्तामोड नगरपालिका पूर्वमेयर ध्रुव शिवाकोटी प्रहरी हिरासतमै नबसी घर फर्किएका छन् । नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

घरमा काम गर्न राखेकी नाबालिगलाई करणी गरेको आरोपमा मंसिरमा शिवाकोटी पक्राउ परेका थिए । तर, उनी हिरासतमा नबसी पाँच महिनादेखि अस्पताल बस्दै आएका थिए । उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीशहरू किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको संयुक्त इजलासले बिहीबार उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो । बलात्कार मुद्दामा अदालतले २० लाख धरौटीमा छाड्न आदेश दिएपछि यसको अहिले सामाजिक सञ्जालमा यसको तीव्र विरोध भइरहेको छ ।

एमालेबाट निर्वाचित पूर्वमेयर शिवाकोटीलाई झापा जिल्ला अदालतले २०८१ पुस २२ मा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । अस्वस्थताको कारण देखाउँदै उनी बीएण्डसी अस्पताल भर्ना भएका थिए । आफूलाई थुनामा पठाउने जिल्लाको आदेशविरुद्ध शिवाकोटी उच्च अदालत पुगेका थिए । चारपटकसम्म पेशी स्थगित हुँदै बिहीबार भएको सुनुवाइमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो ।

शिवाकोटीको घरमा कामदारका रूपमा राखिएकी १५ वर्षीया नाबालिकले ‘आफन्त नेपाल’ नामक संस्थाका प्रतिनिधिसँग आफूमाथि बलात्कार गरिएको पीडा पोखेकी थिइन् । उनलाई विद्यालय पोसाकमै भारततर्फ जाँदै गर्दा उक्त संस्थाले उद्धार गरेको थियो ।