तरुण खबर
२९ बैशाख २०८२, सोमबार १०:२७
सुनील पाण्डे, चलचित्र निर्देशक
बुद्ध वंशअनुसार एक दिन सुमेध ऋषि ध्यानबाट उठी रम्मक नगरतर्फ प्रस्थान गर्नुभयो । त्यतिबेला रम्मक नगरको सुदर्शन विहारमा दीपंकर बुद्ध वस्नुभएको थियो । सुमेध ऋषि त्यो सहरमा आइपुग्नुभयो । उहाँले नगरका मानिसहरु बाटोको सरसफाइ गरिरहेको देख्नुभयो । उहाँले नगरलाई सफा गरिरहेका मानिसहरुसँग बुझ्दा त्यहाँ दीपंकर बुद्धलाई भोजनका लागि आमन्त्रित गरिएको थाहा भयो ।
दीपंकरको नाम सुन्नासाथ ऋषि सुमेधलाई श्रद्धा उत्पन्न भयो । उनी पनि नगरवासीसंँगै बाटो सफा गर्न थाल्छन्, तर सफा गर्दागर्दै भूमिको केही भाग बाँकी रहँदा दीपंकर बुद्ध त्यहाँ आइपुग्नु हुन्छ र त्यस्तो विषम परिस्थितिमा भगवानलाई हिलोमा टेकाउन हुन्न भनी आफ्नै शरीरमा टेकेर जाउन् भनी सुत्तानो परेर लेट्नुभयो । उनले दीपंकर बुद्धसँग लोककल्याणका लागि बुद्ध भएर जन्म लिन पाउँ भनी प्रणिधान गर्नुभयो । त्यसपछि दीपंकर बुद्धले सुमेध ऋषिलाई बुद्ध हुने भविष्य व्याकरण गर्नु भयो र सोही ऋषि चार असंख्य र एक कल्पपछि सिद्धार्थ गौतमको रूपमा जन्म लिएर शाक्यमुनि बुद्ध हुनुभयो ।
संस्कृत भाषामा लेखिएको महावस्तु लोकोत्तरवादी महासांघिकहरूको विनय ग्रन्थ हो । बुद्धको जीवन चरित्रको वर्णन गरिएको यो ग्रन्थ दोस्रो शताब्दी ई.पू.देखि तेस्रो चौथो शताब्दी इस्वी संवत्भित्र संग्रह गरिएको देखिन्छ । त्यो समयमा माणवक आचार्य नाम गरेका त्रिवेद पारगंत पण्डितका मेघ र मेघदत्त नाम गरेका प्रिय शिष्य थिए । उनी जनपद चरिका गर्दै दीपवती नगर आइपुगेका थिए ।
उनी धीर र तीक्ष्ण बुद्धिका थिए । जनपद चरिकाको क्रममा उनलाई एकजनाले पाँच सय पुराण दान दिएका थिए । उनी नगरमा प्रवेश गर्दा सप्तरत्नमय दरबार देख्न पाइन्छ भनी दीपवती नगर पुगेका थिए । त्यहाँ उनले नगरलाई सुसज्जित र भव्यरूपले शृंगार गरेको देखी सायद आज त्यहाँ कुनै उत्सव वा पर्व होला भनी सोचे । त्यतिकैमा पानीको घंैटो बोकेर आएकी अत्यन्त राम्री, सादा, दर्शनीय, विनित एवं गम्भीर स्वभावकी युवती माणविका अगाडि आइपुगिन् । उनको हातमा सातवटा उत्पल (पद्य) थियो । उनको नाम प्रकृति थियो ।
मेघले ती युवतीलाई सोधे– नगरमा के आज उत्सव छ ?
प्रकृतिले जवाफ दिइन्– हे युवक, तपाई यो नगरको नगरवासी हुनु हुन्न र अर्को नगरबाट आउनुभएको जस्तो छ । त्यसैले आज लोकहितकर, प्रभंकर यो नगरमा आउँदै हुनुहुन्छ भन्ने कुरा तपाईलाई थाहा छैन । राजा अर्चिमतका गौरवशाली महायशवान पुत्र लोकनायक दीपंकर बुद्धको यो नगरमा आगमन हुन लागेको छ । उहाँको सम्मानमा यो नगरको शृंगार गरिएको हो ।
मेघ– तिमीसँग भएको उत्पल किनेर ल्याएकी हौ ?
प्रकृति– यो पाँचवटा उत्पल पाँच सय पुराण तिरेर किनेकी हुँ र बाँकी दुईवटा उत्पल साथीसँग लिएकी हुँ ।
मेघ– म दीपंकर बुद्धको पूजा गर्न चाहन्छु । तिमीसँग भएको फूलमध्ये म पाँचवटा किन्छु । बाँकी दुईवटा फूलले तिमी पूजा गर ।
प्रकृति– मेरो एउटा सर्त छ अनि मात्रै म तपाईलाई यो उत्पल दिन्छु । त्यो के हो भने तपाईले मसँग विवाह गर्नुपर्छ । तपाई जहाँ जन्मिनु भए पनि म तपाईको धर्मपत्नी बन्ने छु र तपाई मेरो पति हुनु हुने छ ।
मेघ– मैले तिमीसँग कसरी विवाह गर्ने ? मैले अनुत्तर सम्यक्सम्बोधि प्राप्त गर्ने अठोट गरेको छु ।
प्रकृति– त्यसो भए ठीक छ म तपाईलाई बाधा पु¥याउने छैन । तपाई आफ्नो प्रतिज्ञा पूरा गर्नुस् ।
मेघ– उसोभए म तिमीलाई धर्मपत्नीको रूपमा स्वीकार गर्छु मलाई फूल देऊ ।
मेघले पाँच सय पुराण दिई पाँचवटा उत्पल प्राप्त गरे । दुवैले दीपंकर बुद्धको पूजा गरे । त्यसपछि दीपंकर बुद्धले मेघ माणवलाई शाक्यमुनि बन्ने भविष्यव्याकरण गरेका थिए । संस्कृत र पालि भाषामा फरक फरक शब्द उल्लेख भए पनि भाव र नाम भने एउटै मानिन्छ ।


