तरुण सम्वाददाता
७ जेष्ठ २०८२, बुधबार ११:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशसिंह राउतबाट उनले शपथ लिएका हुन् ।
गभर्नर पौडेलले प्रधानन्यायाधीश राउतमार्फत सपथ ग्रहण गरेसँगै प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री पौडेलसँग भेट गर्नेछन्। प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटघाट सकिएसँगै उनले राष्ट्र बैंकमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्र बैंकले जनाएको छ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको थियो। गत चैत २४ गते पूर्वगभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि सरकारले ढिला गरी पौडेललाई गभर्नर नियुक्त गरेको हो।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको गभर्नर सिफारिस समितिले पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना, पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेकोमा सरकारले पौडेललाई गभर्नर नियुक्ति गरेको हो।


