काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले हृदयेन्द्र शाहलाई राजा बनाए राजसंस्था स्वीकार्ने भनी दिएको अभिव्यक्ति अहिले चर्चामा छ । यसबारेमा कांग्रेस र पार्टीका विभिन्न नेताहरूले खण्डन नै गरिसकेका छन् ।
केही दिनअघि देशसञ्चार अनलाइनमा ‘हृदयेन्द्र शाहलाई राजा बनाए राजसंस्था स्वीकार्ने देउवा तयार’ भनी समाचार आएको थियो । कांग्रेस नेता लोकेश ढकालको भनाइ कोड गरेर समाचार छापिएको थियो । जुन विषयले सिंगो राजनीति तरंगित बनेको छ । ढकालले दिएको सूचनाको कांग्रेस पार्टी र प्रवक्ता मीन विश्वकर्माले छुट्टाछुट्टै खण्डन गरिसकेका छन् ।
ढकालले बुधबार पार्टी सभापति देउवाको हृदयेन्द्रलाई राजा बनाएर आफूले स्वीकार्ने प्रस्ताव आफूले थाहा पाएको बताएका थिए। उनले भनेका थिए, ‘देउवाको यो सन्देश निर्मल निवासमा पुगेको छ ।’
लोकेश काठमाडौंको युवा नेता हुन् । उनलाई कांग्रेसले टिकट पनि दिएको थियो । तर उनी पराजित बनेका थिए । कुनै समय कृष्णप्रसाद भट्टराईनिकट रहेकै कारण देउवाले पनि उनलाई विश्वास गर्थे । पत्रपत्रिकामा लेख लेख्दै आएका ढकाल पछिल्लो समय हिन्दु राष्ट्र पुनःस्थापनाको अभियानमा लागेका छन् । जसकारण पार्टीमा कर्नर पर्दै गएका छन् । यही मेसोमा उनले पार्टी सभापति देउवालाई जबर्जस्ती फसाउन खोजेको भन्दै आलोचना भइरहेको छ ।