कस्मेटिक उद्योगप्रति सरकारको उपेक्षा, विलासिताका सामग्री भन्दै कर असुलीमा मात्रै सरकारको ध्यान

कस्मेटिक उद्योगप्रति सरकारको उपेक्षा, विलासिताका सामग्री भन्दै कर असुलीमा मात्रै सरकारको ध्यान तरुण खबर १३ जेष्ठ २०८२, सोमबार ०९:१३
कस्मेटिक उद्योगप्रति सरकारको उपेक्षा, विलासिताका सामग्री भन्दै कर असुलीमा मात्रै सरकारको ध्यान

राज्यको आम्दानीले साधारण खर्चसमेत धान्न नसकेको अवस्थामा विकास आयोजना अघि बढाउने बजेट सरकारसँग छैन । हरेक वर्ष बजेट ल्याउँदा सरकारले आम्दानी बढाउने उपाय सोच्नु स्वाभाविकै हो । सरकारले यी उपाय सोच्दै गर्दा बिलासी वस्तु आयातमा कर बढाउनुपर्ने सुझाव धेरैले दिने गरेका छन् ।

विलाशी वस्तुमा कर बढाउनुपर्ने सुझावलाई अन्यथा लिन मिल्दैन । तर अनिवार्य आवश्यकताका वस्तुहरू के के हुन् ? विलासिताका वस्तुहरू के के हुन् ? भन्ने विषयमा सरकारको नीति निर्माण तहमा रहेका व्यक्तिहरू खासै विज्ञ देखिँदैनन् । सरकारले शृंगारका सामानलाई विलासिताका वस्तुहरूमा राख्दै ठूलो परिमाणमा कर असुल गर्दै आएको छ । झट्ट हेर्दा शृंगारका सामान विलासिताका हुन्, तर सबै प्रकारका शृंगारका सामान विलासिताका वस्तु होइनन् । शृंगार पनि कुनैबेला विलासिता हो, कुनैबेला अनिवार्य हो ।

राजश्व निर्धारण गर्दा शृंगारका सामानलाई वर्गीकरण गर्नु जरुरी छ । शृंगारका सामानमध्ये करिब ८० प्रतिशतलाई विलासिताको सूचीबाट हटाउनुपर्ने आवश्यकता छ । साबुन, कपालमा लगाउने तेल, टुथपेस्ट एवं सिन्दूर, चुरा, पोते, टीकालगायतका वस्तुहरू सबैका लागि अनिवार्य नै हुन् । कतिपय धार्मिक प्रयोजनका लागि पनि यस्ता सामान प्रयोग हुँदै आएका छन् । तर सरकारले यस्ता सामानमा २० प्रतिशतभन्दा माथि कर असुली गर्दै आएको छ । जसकारण एकातिर उपभोक्ताहरू मारमा परेका छन् भने अर्कोतिर तस्करी बढेको छ ।

शृंगारका सामानको सन्दर्भमा सरकारले ध्यान पु¥याउन नसकेको अर्को विषय भनेको आर्थिक सम्भावना हो । एक मोटामोटी आँकडाअनुसार नेपालमा शृंगारका सामग्रीको वार्षिक खपत २५ अर्ब रुपैयाँ हाराहारीमा छ । जसमध्ये करिब १५ अर्ब रुपैंयाँ बराबरका शृंगार सामग्रीहरूको आयात भन्सार तिरेर औपचारिक रूपमै हुने गरेको छ । जसबाट सरकारले करिब तीन अर्ब रुपैयाँ राजश्व संकलन गर्छ । यसैगरी, सीमावर्ती क्षेत्रका उल्लेख्य उपभोक्ताहरू शृंगारमा सामान खरिदका लागि भारतीय बजारमा पुग्ने गर्छन् । यस्तो खरिद अर्बौंं रूपैयाँको हुने गर्छ । विदेशबाट फर्कनेहरूले पनि निकै ठूलो परिमाणमा शृंगारका सामान ल्याउने गरेका छन् । स्वदेशमै पनि शृंगारमा सामान उत्पादन गर्ने उद्योगहरू छन् । तर स्वदेशी उद्योगहरूले कुल खपतको २० प्रतिशत हिस्सा पनि ओगट्न सकेका छैनन् ।

नेपालमा शृं्गारका सामानको व्यवसाय निकै पुरानो हो । शृंगारका सामानको आपूर्तिका लागि मल्लकालमै कश्मीरबाट व्यवसायीहरू झिकाएर काठमाडौंको इन्द्रचोकमा पसल खोल्न लगाइएको इतिहास छ । परापूर्वकालदेखि चलिएको शृंगारका सामानको व्यवसायलाई एउटै डालोमा राखेर विलासिताका वस्तुको सूची तय गर्ने सरकारमा रहनेहरूको अनभिज्ञता हो । सबै कस्मेटिक सामानलाई राज्यको नीतिअनुसार एकमुष्ट रूपमा विलासिताका सामग्रीमा राखिएको छ । राज्यले कुन कस्मेटिक सामान के प्रयोजनको लागि प्रयोग हुन्छ भन्ने आवश्यक अध्ययन नै नगरी एकमुष्ट विलासितामा राख्दा समस्या सिर्जना भएको छ ।

शृंगारका सामान आयतका क्रममा देशले वार्षिक तीन–चार अर्ब रूपैयाँ राजश्व संकलन भएकोमा सरकार दंग परेर बस्नु उदेकलाग्दो पक्ष हो । यो क्षेत्रले रोजगारीमा पु¥याएको योगदानका सन्दर्भमा सरकार बेखबर जस्तो देखिएको छ । शृंगारमा समान बेच्ने पसलहरू देशभर करिब १२ हजारको संख्यामा दर्ता छन् । दर्ता नभएका पसलहरूको संख्या यो भन्दा बढी छ । यसका अतिरिक्त किराना पसल, डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटिपार्लर, फेन्सिस्टोर, मेडिकलबाट पनि सौन्दर्यका सामग्री बिक्री हुन्छ । यस हिसावले शृंगारमा सामान बिक्री गर्ने व्यवसायमा मात्रै कम्तीमा दुई लाखजनाले प्रत्यक्ष रोजगारी पाएको देखिन्छ । त्यसो त ब्युटिपार्लर तथा हैण्डसम पार्लरमा रोजगारी पाउनेहरूको संख्या जोड्ने हो भने त पाँच लाख नाघ्न सक्छ ।

अहिले नेपाली बजारमा यहाँ उत्पादन हुने सामानहरूको भन्दा पनि बाह्य बजारबाट नेपालमा भित्रिने सामानहरूको हिस्सा ठूलो छ । नेपालमा बाहिरबाट कस्मेटिक सामानहरू आयात गर्नको लागि हाम्रो ठूलो रकम बाहिरिएको स्थिति छ । यस्तो अवस्थामा यहाँ उपलब्ध कच्चा पदार्थमा आधारित गुणस्तरीय कस्मेटिक सामानहरू नेपालमा नै उत्पादन गर्नको लागि राज्यले यहाँका व्यवसायीहरूलाई आकर्षित गर्नुपर्ने आवश्यकता समेत छ ।

लाखौंले रोजगारी पाएको र बार्षिक एक खर्ब रुपैंयाको कारोवार हुने गरेको शृंगार व्यवसायले देशको आर्थिक समृृद्धिमा ठूलो टेवा पु¥याउन सक्छ । तर सरकारमा रहेका नीति निर्माताहरू यस विषयमा बेखवर हुनु दुर्भाग्यपूर्ण हो ।

पहिलो सम्भावना भनेको देशमै शृंगारमा समान उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन हो । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने हो भने वार्षिक १०–१२ अर्ब रुपैंयाँको आयत प्रतिस्थापन हुन सक्छ भने हजारौंले रोजगारी पाउँछन् । तर दुर्भाग्य सरकारले शृंगारका सामान स्वदेशमै उत्पादनका लागि अघोषित प्रतिबन्ध लगाएको छ । किनकि शृंगारका बस्तु उत्पादन गर्ने उद्योगका लागि आयात हुने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार लगाउने गरिएको छ, जबकि उत्पादित वस्तु आयातमा २० प्रतिशत भन्सार लगाउने गरिएको छ । यस्तो अवस्थामा कसले खोल्ने उद्योग ? नेपाल सरकारको अहिलेको नियम कानुनअनुसार स्वदेशमै कस्मेटिक वस्तुको उत्पादन गर्नुभन्दा विदेशबाट आयात गर्दा सजिलो देखिएकाले सोहीअनुसारको नीति अवलम्बन गरिएको देखिन्छ ।

यसैगरी उद्योगलाई चाहिने कच्चा पदार्थहरू आयात गर्दा गृह मन्त्रालय, वाणिज्य विभाग, उद्योग विभाग जस्ता अन्य सरकारी कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने अवस्था छ । यो प्रक्रिया झन्झटिलो र खर्चिलो अवस्था छ, त्यसकारण यस्ता झन्झटिलो र खर्चिलो प्रक्रिया तुरुन्त हटाउनु पर्दछ । नेपालमा उत्पादन हुने जडिबुटी एवं औषधिजन्य वस्तुहरू बिना प्रशोधन बाह्य बजारमा निर्यात भई प्रशोधनपश्चान् पुनः नेपालमै आउने गरेको यथार्थतालाई सरकारले आँखा चिम्लनु हुन्न ।

हाल विशेष औद्योगिक क्षेत्र (सेज) अन्तर्गत रहेका उद्योगलाई मात्र सरकारले विशेष सेवा सुविधा छुट दिएको छ । तर कतिपय कस्मेटिक उद्योगहरू सेजभित्र स्थापना गर्न सम्भव हुँदैन । सेज बाहिरका कस्मेटिक उद्योगलाई पनि विशेष सेवासुविधा छुट दिनुपर्छ । सरकारले सहज नीति ल्याउने हो भने नेपालमा सबै प्रकारका सौन्दर्यका सामग्री उत्पादन गर्न सकिने अवस्था छ ।

यस्ता सामान उत्पादनका लागि आवश्यक धेरै कच्चा पदार्थ नेपालमै उपलब्ध छन् । आयातमा भरपर्नु परेकाले नेपाली बजारमा अहिले पनि गुणस्तरीयभन्दा पनि देख्दा आकर्षक, तर गुणस्तरहीन वस्तुहरू प्रशस्त छन् । नेपालमा आयात गरिने वस्तुको गुणस्तर चेकजाँच पनि अनिवार्य आवश्यकता हो । डुप्लिकेट वस्तुको चेकजाँच र निषेधित तथा प्रतिबन्धित वस्तुको चेकजाँचका लागि भन्सार विन्दुमा नै ल्याबको स्थापना गरि कारोबार भएको मूल्यको आधारअनुसार गुणस्तरीय कस्मेटिक वस्तुको मात्र भन्सार जाँचपास गराउने व्यवस्था गरिनुपर्छ ।

अहिले नेपालमा सोनाटा र नेपाल लिभरलगायतका केही ठूला कस्मेटिक उद्योग नेपालमा सञ्चालनमा छन् । यद्यपि उत्पादनको परिमाण भने सानो छ । यसैगरी अहिले नेपालमा अन्य साना कस्मेटिक उद्योगहरू पनि सञ्चालनमा छन् । स्वदेशी कस्मेटिक तथा अन्य उद्योगले कच्चा पदार्थहरूको आयात अनुमति प्रक्रिया सहज र एकद्वार प्रणालीबाट गरिनुपर्ने जायज माग सम्बोधन हुनु जरुरी छ । कस्मेटिक वस्तुका उत्पादनलाई चाहिने स्वदेश नै पाइने कच्चा पदार्थको गहन अनुसन्धान, संकलन, प्रशोधन र उत्पादन कार्यमा नेपाल सरकारबाट बढीभन्दा बढी सहुलियत दिएर स्वदेशी उत्पादनलाई जोड दिने नीति निर्माण गरिनुपर्दछ ।

(लेखक कस्मेटिक व्यवसायी संघका अध्यक्ष हुन्)