तरुण संवाददाता
२० जेष्ठ २०८२, मंगलवार १८:५४
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई मंगलबार ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गुरागाईंले गत चैत २१ गते आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई ६ महिनासम्मका लागि निलम्बन गरिएको हो ।
पाण्डे काठमाडौंका मेयर बालेन्द्र साह बालेनका दाहिने हात मानिन्छन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई काठमाडौं टावरको नक्सा पास प्रकरणमा भ्रष्टाचार गरेको भन्दै बालेनले निलम्बन गरेका थिए । त्यसपछि गुरागाई बिदामा बसेका थिए । उनी बिदामा बसेपछि काठमाडौं महानगरमा तलबभत्ता सबै रोकिएको थियो । त्यसपछि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोल, सबै वडाध्यक्ष र कर्मचारी मिलेर गुरागाईलाई कार्यालय प्रवेश गरेका थिए । त्यसैबेला उनलाई नगर प्रमुख पाण्डेले बल प्रयोग गरेर रोक्ने प्रयास गरेका थिए ।
पाण्डेले आफूले बालेनलाई सहयोग गर्दा निलम्बनमा परेको गुनासो गरेका छन् । ‘यहाँ शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ। म कसैलाई दोष दिन चाहन्न, जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ,’ पाण्डेले भने, आमा ब्रेन ह्यामरेज भएर अस्पतालमा हुनुहुन्छ, यस्तो बेलामा मानवीयताको समेत ख्याल गरिएन ।’ उनले आफ्नो आमा बिरामी भएर अहिले अस्पताल भर्ना भएको बेला पनि अफिस आएर आफ्नो काम गरिरहेको भनेका छन् । महानगर प्रमुख प्रमुख प्रशासकीय अधिकृतअन्तर्गत सञ्चालित हुने व्यवस्था छ ।


