ललितपुर– ललितपुरको ठैवमा विद्युतको पोल सार्नेक्रममा पोलले लागेर एकजनाको मृत्यु भएको छ ।
बुधबार बिहान करिब साढे १० बजे गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।
घटनापछि आक्रोशित स्थानीयले जेसिबीको सिसा फुटाइदिएका छन् । ‘घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ’, उनले भने ।
ठैवदेखि सानागाउँ जाने सडकमा हाल स्तरोन्नतिको काम अघि बढिरहेको छ । बुधबार बिहानदेखि सडकमा विद्युत प्राधिकरणले हटाउनुपर्ने दुईवटा पोल बाँकी थियो । त्यसक्रममा दोस्रो पोल काटेर भुइँमा राख्ने क्रममा सडकमा उभिएर हेरिरहेका ठैंवकै शाहीको मृत्यु भएको हो । करिब पाँच घन्टापछि स्थानीयको अवरोध शान्त भएको थियो । प्रहरी वृत्त सातदोबाटोमा मृतकका आफन्त, विद्युत प्राधिकरणका प्रतिनिधि, ठेकेदार कम्पनीका प्रतिनिधिबीच छलफल भई घटना मिलाइएको छ ।