पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन

पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन तरुण संवाददाता २६ जेष्ठ २०८२, आईतवार ११:१५
पूर्वमन्त्री रामकृष्ण चित्रकार भन्छन्– कानुन थाहा छैन भनेर अनदेखा गर्न पाइँदैन

ललितपुर । बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले कानुनी राज्यमा कसैले पनि कानुन थाहा छैन भनेर अनदेखा गर्न नपाइने बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको पोलिसी एण्ड एडभोकेसी समितिको संयोजनमा शुक्रबार भएको उद्योग व्यवसायीहरुका लागि कानुनी साक्षरता तथा अन्तरक्रियामा चित्रकारले उद्योग, व्यवसाय सञ्चालनका क्रममा आइपर्ने विभिन्न झञ्झट र जरिवानाबाट बच्न हरेकले कानुनी ज्ञान राख्नुपर्छ भन्नेमा जोड दिए ।

‘व्यवसायमा लाग्नेले व्यवसाय र उद्योग सञ्चालन गर्नेले उद्योगसम्बन्धी कानूनको जानकारी राख्नुपर्छ, कानूनको स्रोत स‌ंविधान हो, संविधानभन्दा ठूलो कानून हुन सक्दैन । ऐन, नियम, कार्यविधि र अध्यादेश कानूनका अभिन्न अंग हुन्, अनेक खालका कानून बनेका हुन्छन्, लोकतन्त्रमा जनताले चुनेर पठाएको जनप्रतिनिधिको संसदले कानून बनाउँछ, कतिपय कानून सरकारले पनि बनाउँछ,’ उनले भने ।

चित्रकारले कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको अवस्थामा मात्रै राज्य बलियो हुन्छ भन्दै राज्यले कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन ध्यान दिनुपर्ने बताए । नेता चित्रकारले उद्योग, व्यवसायमा लाग्नेहरुका लागि आवश्यक महत्त्वपूर्ण कानून व्यवसाय दर्ता तथा सञ्चालनसम्बन्धी ऐन, आयकर, मूल्य अभिवृद्धि कर ऐन, भन्सार कानून, व्यवसायसँग जोडिएको कानून भएको बताउँदै यी कानूनहरुको पालना गरेर काम गर्नुपर्नेमा ध्यानाकर्षण गराए।

चित्रकारले उद्योग वाणिज्य संघ जत्तिकै विश्वासनीय संस्था अरु धेरै छैनन् भन्दै कानूनी साक्षरता र उद्यमशीलता विकास गर्दै उद्योग बाणिज्यको क्षेत्रमा उद्योग बाणिज्य संघले काम गर्न आग्रह गरे ।

उपभोक्ताकर्मी प्रेमलाल महर्जनले तीन तहको सरकारबाट बजार अनुगमन हुने भन्दै उद्योगी व्यवसायीहरुले कानूनी व्यवस्थाहरुको परिपालन गरेर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएयो । उनले यस्ता कार्यक्रमबाट ऐन नियममा भएको परिवर्तनबारे जानकारी भइ अन्जानमा हुने गल्तीको न्युनिकरण हुने बताए ।

संघको पोलिसी एण्ड एडभोकेसी समितिको अनिल महर्जनले यस्ता कानुनी साक्षरताले उद्योग व्यवसायीहरुका लागि सहज बनाउँदै कानुनी ज्ञान हासिल गरेर सहजरूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे ।