भिजिट भिसा पहिलेदेखिकै समस्या हो, अहिलेको मात्र होइन : प्रचण्ड

भिजिट भिसा पहिलेदेखिकै समस्या हो, अहिलेको मात्र होइन : प्रचण्ड तरुण संवाददाता ३ असार २०८२, मंगलवार १२:०५
भिजिट भिसा पहिलेदेखिकै समस्या हो, अहिलेको मात्र होइन : प्रचण्ड

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले मंगलबार शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ देखि भएको बताएका हुन् ।

‘यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ । र, हामीले पनि थाहा पाएकै छौँ,’ उनले भने । यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ ।

प्रचण्डले आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको बताए । ‘हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ,’ उनले भने ।

प्रचण्डले बजेट पारित गर्नुपर्ने, संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेलगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।