काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै बिन्तीमा इजरायलसँग युद्ध विरामको सहमति भएको बताएको छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत् सबैलाई बधाई भन्दै युद्धविरामको सहमति भइसकेको दाबी गरेपछि इरानले प्रतिक्रिया दिएको हो ।
‘इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्ध विरामको सहमति भइसकेको छ, १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ,’ उनले भनेका छन् । ट्रम्पका अनुसार १२औं घण्टामा इजरायलले युद्ध विराम सुरु गर्नेछ । त्यसपछि २४औं घण्टामा १२ दिने युद्धको अन्त्यलाई विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ ।
‘यो यस्तो युद्ध थियो, जुन वर्षौंसम्म तानिएर पूरै मध्यपूर्वलाई तहस–नहस पार्न सक्थ्यो । तर त्यो भएको छैन र कहिल्यै हुने पनि छैन । ईश्वरले इजरायललाई आशीर्वाद दिनुहोस्, ईश्वरले इरानलाई आशीर्वाद दिनुहोस्, ईश्वरले मध्यपूर्वलाई आशीर्वाद दिनुहोस्, ईश्वरले अमेरिकालाई आशीर्वाद दिनुहोस् र ईश्वरले संसारलाई आशीर्वाद दिनुहोस्,’ ट्रम्पले लेखेका छन् ।
सोमबार राति इरानले कतारको दोहा नजिकै रहेको अमेरिकी एयरबेसमा क्षेप्यास्त्र प्रहार गरेको थियो । रातको समयमा भएको आक्रमणपछि इजरायल र इरानबीचको द्वन्द्वको ज्वाला मध्यपूर्वका अन्य राष्ट्रमा समेत फैलनसक्ने आशंका बढेको बेलामा अमेरिकी राष्ट्रपतिको उक्त दाबी बाहिरिएको हो ।
इरानले पूर्वसूचना दिएर कतारमा आक्रमण गरेको बताइएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार आक्रमणअघि नै कतारले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेको थियो । आक्रमणमा कुनै मानवीय क्षति भएको छैन । कतारको अल–उदीद एयरबेस मध्यपूर्वको सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा हो । झण्डै १० हजार अमेरिकी सैनिक तैनाथ एयरबेस अमेरिकी सेनाको सेन्ट्रल कमान्डअन्तर्गत सञ्चालन हुन्छ ।