माल्दिभ्सका मेडिकल विद्यार्थीसँग सम्झौता गर्दै सरकार

माल्दिभ्सका मेडिकल विद्यार्थीसँग सम्झौता गर्दै सरकार तरुण संवाददाता १२ असार २०८२, बिहीबार १२:०५
माल्दिभ्सका मेडिकल विद्यार्थीसँग सम्झौता गर्दै सरकार

काठमाडौँ । माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबिच बैंककस्थित संयुक्त राष्ट्रसङ्घीय सम्मलन केन्द्रमा भएको भेटवार्तामा माल्दिभ्सबाट प्राप्त मस्यौदामा नेपालका तर्फबाट सकारात्मक प्रगतिबारे जानकारी आादानप्रदान भएको छ ।

स्वास्थ्यमन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र चाँडै सम्झौता गर्नेगरी गृहकार्य भइरहेको माल्दिभ्सका राज्यमन्त्रीलाई जानकारी दिए । उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए ।

मन्त्री पौडेलले माल्दिभ्समा नेपालीहरु काम गर्ने सङ्ख्या बढिरहेको, तर उनीहरुले रकम घर पठाउन समस्या परेको जानकारी दिए । प्रतिउत्तरमा माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्रीले अर्थ मन्त्रालयसँग कुरा गरेर समाधान निकाल्ने बताए।

नेपालले माल्दिभ्सका मेडिकल विद्यार्थी आकर्षित गर्न आवश्यक नीतिगत परिमार्जनको तयारी गरिरहेको छ । त्यहाँका स्वास्थ्यमन्त्रीसँग तीन महिनाअघि इण्डोनेसियामा स्वास्थ्यमन्त्री पौडेलसँगको वार्तापछि जेनेभामा समेत यसबारे कुराकानी भएको थियो ।

मन्त्री पौडेलले विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षा दिने सम्बन्धमा सुझाव दिन कार्यदलसमेत गठन गरेर गृहकार्य थालेका थिए । त्यसयता माल्दिभ्सले पठाएको मस्यौदामा स्वास्थ्य मन्त्रालयले आवश्यक परिमार्जन गरेर सम्झौता गर्ने तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।