तरुण संवाददाता
१३ असार २०८२, शुक्रबार १२:३४
काठमाडौं । प्रतिनिधिसभाबाट असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित नहुने देखिएको छ । प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा केही विषयमा सहमति जुट्न नसकेपछि केही दिन अझ छलफल गर्नुपर्ने देखिएको समिति सभापति अम्मरबहादुर थापाले बताएका छन् ।
उनका अनुसार विधेयक पास हुन अझै एक साता लाग्नेछ । समितिका सबै सदस्यले कम्तीमा विधेयकमा समेटिएका विषयबारे जानकारी पाउनुपर्ने उनको भनाइ छ । गत जेठ ३१ गते शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले थप प्रस्ताव समितिमा पेस गरेका थिए ।
समितिले पनि कतिपय बुँदामाथि संशोधन राखेपछि छलफल लम्बिएको हो । सरकार र शिक्षक महासंघबीचको सहमतिअनुसार असार १५ गतेभित्र विधेयक पारित गर्ने भनिएको थियो । सोहीअनुसार गत वैशाखमा २९ दिने शिक्षक आन्दोलन स्थगित भएको थियो ।
संसदीय समितिमा निजी विद्यालयको संरचना, प्रारम्भिक बाल विकास (इसीडी) र शिक्षक अनुमतिपत्रको विषयमा सहमति हुन नसकेको बताइएको छ । त्यस्तै, निजी विद्यालयलाई कम्पनी मोडलमै चलाउने कि गुठीअन्तर्गत भन्ने विषय र इसीडीलाई विद्यालय मातहत राख्ने कि नराख्ने भन्ने विषयमा सहमतिको प्रयास भइरहेको छ ।


