काठमाडौं । आफ्नो चरित्रहत्या गर्नेलाई कारबाहीको माग गर्दै गायिका एलिना चौहान साइबर ब्युरो पुगेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भइरहेको अपमानजनक र अभद्र टिप्पणीहरूविरुद्ध ब्यूरोमा सोमबार औपचारिक उजुरी दिएकी छन्।
एलिनाले पछिल्लो केही समयदेखि आफ्नो फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक प्लेटफर्ममा अज्ञात व्यक्तिहरूद्वारा निरन्तर नकारात्मक, अमर्यादित र चरित्र हत्या गर्ने खालका कमेन्ट भइरहेको गुनासो गर्दै कानुनी बाटो रोजेकी हुन्। ‘यो लडाइँ मेरो मात्र हैन, चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनु होला सबैले,’ उनले लेखेकी छन् ।
सन्देशमार्फत उनले यस्तो व्यवहारको शिकार बनेका अन्यलाई पनि डर नमान्न र कानुनी सहायता लिन आग्रह गरेकी छन्।
एलिनाले आफ्ना सामाजिक सञ्जालका पोस्टहरूमा गरिएका आपत्तिजनक कमेन्ट र ती व्यक्तिका प्रोफाइल फोटोसहित सार्वजनिक गर्न थालेपछि सकारात्मक प्रतिक्रिया र समर्थन पाएकी छन् ।