काठमाडौं । अघिल्लो वर्षको भन्दा यस वर्ष विदेशी पर्यटकको संख्या घटेको छ । नेपाल पर्यटन बोर्डले सन् २०२५ को पहिलो ६ महिनामा पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटकले नेपालको भ्रमण गरेको तथ्यांक सार्वजनिक गरेको छ । जबकि गत वर्षको सोही अवधिमा पाँच लाख ८३ हजार ११ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
बोर्डले जारी गरेको तथ्यांकअनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै एक लाख ४७ हजार ८३९ पर्यटक भारतीय छन् । हरेक वर्ष नेपाल भ्रमण गर्न आउने पर्यटक मध्ये भारतीय पर्यटक नै बढी हुने गरेका छन् ।
६ महिनामा ५८ हजार ३२६ अमेरीकी पर्यटकले नेपालको भ्रमण गरेका छन्। ५२ हजार ५१४ चिनियाँ, २८ हजार ९५६ बंगलादेशी र २७ हजार ६८ बेलायती पर्यटकले नेपालको भ्रमण गरेका छन् । अस्ट्रेलीयाबाट २२ हजार ९५, थाइलान्डबाट १७ हजार ६३४, श्रीलंकाबाट १५ हजार ४३२, जर्मनीबाट १४ हजार ४५५ र दक्षिण कोरीयाबाट १२ हजार ७२६ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
बोर्डका अनुसार यस वर्षको जुन महिनामा मात्रै ७६ हजार ४२५ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस बिचमा भारतबाट मात्रै ३२ हजार ६६२ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट नौ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट पाँच हजार ४४९ र बेलायतबाट दुई हजार २८४ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस अवधिमा अष्ट्रेलिया, मलेशिया, भुटान, जापान र दक्षिण कोरियाबाट पनि पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । अहिलेको मौसमलाई पर्यटकको अफसिजन मानिन्छ । तर पनि पर्यटक भने उल्लेख्य आएको बोर्डले जनाएको छ ।